सन् २०२६ को पहिलो ६ महिनामा हङकङमा ५३ अर्ब डलरभन्दा बढी वैदेशिक लगानी भित्रियो

एजेन्सी । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारको लगानी प्रवर्धन निकाय इन्भेस्ट हङकङले सन् २०२६ को पहिलो ६ महिनामा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।
सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यस अवधिमा ४१३ वैदेशिक तथा चिनियाँ मुख्य भुमिका कम्पनीहरूले हङकङमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गरेका छन् । यसबाट ५३ अर्ब हङकङ डलर (करिब ६.७५ अर्ब अमेरिकी डलर) प्रत्यक्ष वैदेशिक लगानी भित्रिने सुनिश्चित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो ।
लगानी गर्ने कम्पनीहरूको स्रोतका आधारमा चिनियाँ मुख्य भूमि सबैभन्दा ठूलो हिस्साका रूपमा देखिएको छ । कुल ४१३ कम्पनीमध्ये ६० प्रतिशत चिनियाँ मुख्य भूमिका रहेका छन् भने बाँकी कम्पनीहरू युरोप, एशिया र अन्य विभिन्न अन्तर्राष्ट्रिय बजारका रहेका छन् ।
यी कम्पनीहरूले हङकङको रणनीतिक आर्थिक विकासका प्रमुख क्षेत्रहरूलाई समेटेका छन्। जसमा नवप्रवर्तन तथा प्रविधि, वित्तीय सेवा, व्यावसायिक सेवाका साथै सुन र अन्य वस्तुहरूको व्यापार जस्ता क्षेत्रहरू मुख्य रहेका छन् ।
एक समारोहमा बोल्दै हङकङका मुख्य कार्यकारी जोन लीले एक देश, दुई प्रणालीको अवधारणा अन्तर्गत हङकङले चीनको बलियो समर्थन प्राप्त गर्नुका साथै विश्वसँगको निकट सम्बन्धको विशिष्ट लाभ उठाइरहेको बताए ।
लीकाअनुसार अन्तर्राष्ट्रिय वरीयतामा हङकङको बढ्दो स्थान र रणनीतिक लगानी आकर्षित गर्न प्राप्त भएको यो असाधारण सफलताले हङकङको मजबुत सामथ्र्य र अवसरहरूलाई स्पष्ट पारेको छ ।
आगामी दिनमा इन्भेस्ट हङकङले विभिन्न सहुलियतपूर्ण नीतिहरूमार्फत लगानी प्रवद्र्धनका कार्यलाई थप तीव्रता दिने योजना बनाएको छ ।
विशेष गरी ’नर्दर्न मेट्रोपोलिस’ परियोजनाले सिर्जना गर्ने अवसरहरूलाई उपयोग गर्दै रणनीतिक औद्योगिक समूहहरूलाई आकर्षित गर्ने र हङकङको उच्च–गुणस्तरको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।









