एमालेबाट निर्वाचित वडाध्यक्ष रास्वपा महाधिवेशनमा, पदमुक्त गर्न सिफारिस

काठमाडौं । मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका छन् ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष नै रास्वपाको महाधिवेशन प्रतिनिधि बनेर महाधिवेशनमा सहभागीभएपछि पार्टीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

एमाले मोरङले ९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारी बैठकमार्फत सुवेदीलाई वडाध्यक्ष पदबाट पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । पार्टीका जिल्ला सचिव सोमराज थापाका अनुसार पार्टी अनुशासन उल्लंघन भएको निष्कर्षसहित उक्त निर्णय गरिएको हो ।

सुवेदीले सामाजिक सञ्जालमार्फत सांसद गणेश कार्कीलाई केन्द्रीय सदस्यमा जिताउन आग्रह गर्दै पोस्ट गरेको विषय पनि विवादको केन्द्रमा परेको छ । पार्टीले यसलाई संगठनात्मक अनुशासनविपरीतको गतिविधि भनेको छ ।

सुवेदी एमाले मोरङको जिल्ला सदस्यसमेत रहेका थिए । दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित उनी पहिलो कार्यकालमा नगरपालिकाको प्रवक्ताको जिम्मेवारीमा थिए । जेनजी आन्दोलनपछि भने उनी एमालेभित्र निष्क्रिय बनेका थिए र जिल्ला कमिटी सदस्यबाट समेत राजीनामा दिएको बताइन्छ ।

यसअघि पनि मोरङका अन्य दुई वडाध्यक्षहरू दल परिवर्तन गरेको कारण पदमुक्त भइसकेका छन् । निर्वाचन आयोगले लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाललाई पदमुक्त गरिसकेको थियो । श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए भने खनाल रास्वपामा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =