मनसुनजन्य विपद् व्यवस्थापनका लागि एपीएफको विशेष तयारी, २१ हजारभन्दा बढी जनशक्ति परिचालन

काठमाडौँ । मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ अन्तर्गत देशभर आफ्नो उपस्थिति र सक्रियता बढाएको छ ।

सम्भावित बाढी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरीले विशेष रणनीति र जनशक्ति परिचालन गरेको हो । सशस्त्र प्रहरी बलले देशभरका २१ हजार ६ सय ९९ जना जनशक्तिलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी अवस्थामा राखेको छ ।

असार मसान्तसम्म सङ्गठनका सम्पूर्ण कर्मचारीहरूलाई यस्तो तालिम दिने लक्ष्य राखिएको छ । विपद् प्रतिकार्यकै लागि देशभर ८ हजार १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरू २४ सै घण्टा ‘स्ट्याण्डबाई’ रहने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बताए ।

यसका साथै, विभिन्न कार्यालयहरूमा ‘विपद् सम्पर्क व्यक्ति’ तोकेर सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीव्र पारिएको उनले बताए ।

रणनीतिक स्थानहरूमा अस्थायी तथा स्थायी वेश स्थापना

विपद्को समयमा तत्काल उद्धार टोली पुग्न कठिन हुने दुर्गम तथा जोखिमयुक्त स्थानहरूको पहिचान गरी सातै प्रदेशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेश’ स्थापना गरिएको छ । जसअन्तर्गत कोशीमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ८ वटा वेश रहेका छन् ।

यसैगरी, धनकुटाको मूलघाट, सुनसरीको चतरा, बाराको निजगढ, सप्तरीको भारदह, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, म्याग्दीको नारच्याङ र कैलालीको डुडेझारीसहित १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका विपद् व्यवस्थापन वेशहरू तयारी अवस्थामा राखिएको महानिरीक्षक पौडेलले बताए ।

विशिष्टीकृत उद्धार टोली र उपकरणको व्यवस्था

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन १ सय ३४ जना गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका ११ जोखिमयुक्त स्थानमा खटाइएको छ । सशस्त्र प्रहरीसँग हाल ८२ वटा र्याफ्टिङ बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा रहेको उनले जानकारी दिए । विशिष्टीकृत तालिम प्राप्त ४ हजार ७ सय १० जना दक्ष कर्मचारीहरू उद्धार सामग्रीसहित तयारी हालतमा रहेका छन् ।

स्वास्थ्य सेवाका लागि ८ वटा ‘मास क्याजुअल्टी भेइकल’ र ८ वटा ‘ए’ क्लास एम्बुलेन्सहरू विभिन्न बाहिनी तथा अस्पतालहरूमा व्यवस्था गरिएको छ । साथै, १० वटा ‘इमिडिएट रेस्पोन्स टिम’ र १३ वटा हेभी इक्विपमेन्टहरू (डोजर, लोडर आदि) विभिन्न प्रदेशमा तैनाथ गरिएका छन् ।

प्रविधि र सूचना प्रणालीको प्रयोग

विपद्को सूचना तत्काल प्राप्त गर्न सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको महानिरीक्षक पौडेलले बताए । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने ‘रियल टाइम डाटा’ लाई आधार मानी प्रतिकार्य योजनालाई थप सुदृढ बनाइएको पनि उनले जानकारी दिए ।

समुदाय परिचालन र जनचेतना

सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा जनसहभागिता बढाउन हालसम्म १ हजार ७ सय ४१ जना विपद् स्वयंसेवक तयार पारिसकेको छ । स्थानीय तहमा १ लाख ६८ हजार ९ सय ५६ जना ‘विपद् सूचक’ हरूको सञ्जाल निर्माण गरिएको छ, जसले घटनाको तत्काल जानकारी दिनेछन् । यसका अतिरिक्त, देशभरका विद्यालय र समुदायमा २ हजार ३ सयभन्दा बढी सचेतनामूलक कार्यक्रम र ३ सय ४३ वटा कृत्रिम अभ्यास सम्पन्न गरिएको पौडेलले बताए ।

विपद् व्यवस्थापनका यी सम्पूर्ण तयारीहरू सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षकको प्रत्यक्ष निर्देशन र योजना अनुरूप अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । सम्भावित जोखिमका क्षेत्रहरूको नक्शाङ्कन गरी मुख्य कोरिडोरहरूमा खोज तथा उद्धारको विशेष कार्ययोजना समेत कार्यान्वयनमा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =