महाधिवेशन लम्बिँदा घर फर्कन थाले रास्वपाका प्रतिनिधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अपेक्षाभन्दा लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन थालेका छन् ।

केन्द्रीय सदस्यका लागि मतदान गरेलगत्तै प्रतिनिधिहरू चितवनबाट फर्किन थालेका हुन् । सुरुमा मंगलबारसम्मका लागि तय गरिएको महाधिवेशनको अवधि दुई दिन थपिएपछि प्रतिनिधिहरूको फर्किने क्रम बढेको हो ।

बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यका लागि मतदान जारी छ । मतदानको गति हेर्दा बिहीबार दिउँसोसम्म पनि केन्द्रीय सदस्यतर्फको मतदान सकिन कठिन देखिएको छ ।

रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुने व्यवस्था छ । तर धेरै प्रतिनिधि दोस्रो चरणको मतदान नपर्खी घर फर्किन थालेका छन् ।

मंगलबारदेखि नै महाधिवेशन लम्बिने संकेत देखिएसँगै प्रतिनिधिहरू फर्किन थालेका थिए । भूगोलतर्फ केन्द्रीय सदस्यका एक उम्मेदवारका अनुसार ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले चितवन छाडिसकेका छन् ।

निर्वाचन आयोगले भने हालसम्म महाधिवेशनस्थलमा रहेका प्रतिनिधिको यकिन संख्या सार्वजनिक गरेको छैन । आयोगका अनुसार करिब ४ हजार १ सय प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । पदाधिकारी चयनका लागि हुने दोस्रो चरणको मतदानको कार्यतालिका पनि निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =