पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान थिएन: आशिका तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पार्टीको महाधिवेशनमा दिएको अभिव्यक्तिलाई लिएर विवाद भएपछि सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन् ।
उनले आफू राजनीतिमा नयाँ भएकाले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाबारे पर्याप्त जानकारी नभएको बताएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टीको महाधिवेशनको निर्वाचनलाई सुरुमा आम निर्वाचनजस्तै ठानेको उल्लेख गरेकी छन् ।
‘मैले सोचेँ फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोगजस्तो लागेको थियो । पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ ?’ उनले लेखेकी छन् ।
तामाङले आफू राजनीतिक यात्रामा भर्खरै प्रवेश गरेको उल्लेख गर्दै सिक्ने र बुझ्ने क्रममा रहेको बताएकी छन् । ‘मेरो राजनीतिकमा जन्म भएको दुई महिना राम्रोसँग भएको छैन । न मेरो बाउ राजनीतिज्ञ थियो, न आमा, न स्वयम् म हुँ । मान्छे सिक्दै जाने हो, बुझ्दै जाने हो,’ उनले भनेकी छन् ।
महाधिवेशनबाट आफूले एउटा महत्वपूर्ण निष्कर्ष निकालेको समेत उनको भनाइ छ । ‘तर मैले महाधिवेशनबाट के बुझेँ भने दुःख पाउने त उही भुइँमान्छे जनता नै रहेछ, जता पनि,’ उनले लेखेकी छन् ।










