प्रधानमन्त्री देशको चिन्ता लागेर काठमाडौँ जानुभयो: मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह पूर्वनिर्धारित प्रतिबद्धताअनुसार तीन दिन महाधिवेशनमा सहभागी भएर काठमाडौँ फर्किएको बताएका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा मतदानको तयारी भइरहेका बेला प्रधानमन्त्री शाह बुधबार काठमाडौँ फर्किएका हुन् । यस विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता झाले शाहले उद्घाटन समारोहमै तीन दिनको समय पार्टीका लागि छुट्याएको जानकारी गराएको स्मरण गराए ।
‘उहाँले उद्घाटन समारोहको क्रममा नै तीन दिनको समय पार्टीका लागि लिएर आएको छु, त्यसपछि मेरो समय देशका लागि हो भन्नुभएको थियो । आफ्नो कमिटमेन्टअनुसार उहाँ बस्नुभएको छ,’ झाले भने ।
पत्रकारहरूसँग ठट्टा गर्दै उनले प्रधानमन्त्री शाहको उपस्थितिबारे सुरुदेखि नै विभिन्न आशंका उठाइएको उल्लेख गरे । ‘तपाईँहरूले नै यहीँ बसेर मात्रै हुन्छ भन्दै हुनुन्थ्यो । उहाँलाई देशको चिन्ता लाग्यो, जानुभयो,’ उनले भने ।
झाका अनुसार प्रधानमन्त्री शाहले महाधिवेशनका लागि पार्टीले अपेक्षा गरेभन्दा बढी समय दिएका थिए ।
‘हामी उद्घाटन समारोहमा उहाँ झुल्किनुहुन्छ कि झुल्किनुहुन्न भन्ने आशंकामा थियौँ । तपाईँहरू पनि मलाई प्रश्न सोध्दै हुनुहुन्थ्यो । तर उहाँ तीन दिन सरिक हुनुभयो । आफ्नो कमिटमेन्ट त पूरा गर्नुभएको छ,’ उनले भने ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले पार्टीको कार्यक्रममा आवश्यकभन्दा बढी समय बिताउनु पनि उपयुक्त नहुने उनको भनाइ थियो ।
‘अब उहाँ धेरै बसिदिनुभएको भए सम्भवतः अर्को प्रश्न आउँथ्यो, ‘यतै बस्ने ? तपाईँलाई सिंहदरबारको चिन्ता छैन ?’ भनेर,’ झाले भने ।
प्रवक्ता झाले आगामी दिनमा राजनीतिक प्रशिक्षण, नेतृत्व विकास तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउँदै अनावश्यक खर्च र प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने प्रयास गरिने पनि बताए ।









