रास्वपा केन्द्रीय सदस्यका उम्मेदवार बने असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् ।
शाहले खुला मुस्लिम समावेशी क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
उनी बालेन र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रूपमा चिनिन्छन् ।
शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए । उनी त्यसबेला समानुपातिक प्रणालीबाट निर्वाचित सांसद थिए ।
जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै शाहले विभिन्न पक्षबीच संवाद र समन्वयको पहल गरेका थिए । उनले दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन सक्रिय भूमिका निर्वाह गरेको बताइन्छ ।
वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा संगठन विस्तारका विषयमा पनि शाहले निरन्तर भूमिका खेल्दै आएका छन् ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएपछि शाहले पार्टीको वैचारिक स्पष्टता, संगठन सुदृढीकरण तथा समावेशी लोकतन्त्रको अभ्यासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रास्वपाले अघि सारेको सुशासन, जवाफदेहिता र परिवर्तनको अभियानलाई जनस्तरसम्म पुर्याउन सक्रिय भूमिका खेल्ने उनको भनाइ छ ।
शाह हाल संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलका संयोजकसमेत रहेका छन् ।









