विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया: ‘पूर्वाग्रह र प्रतिशोध स्वीकार्य हुँदैन’

काठमाडौं । एमाले नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि राज्यका निकायको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
ज्ञवालीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा राज्यका संवैधानिक तथा कानुनी अधिकारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुनसम्मत सामना गर्ने र न्यायालयको निर्णयलाई सहज रूपमा स्वीकार गर्ने नेकपा (एमाले) को स्थापित मान्यता रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार एमालेले उक्त मान्यतालाई निरन्तर अवलम्बन गर्दै आएको छ ।
ज्ञवालीले अनुसन्धान प्रक्रियाबारे टिप्पणी गर्दै पहिले निष्पक्ष र गहिरो अनुसन्धान गरी, अभियोजनपछि मात्र अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र आवश्यक अवस्थामा मात्रै नियन्त्रणमा लिने विधि नै स्थापित अभ्यास हुनुपर्ने बताएका छन् ।
तर उनले हाल “पहिले गिरफ्तार गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने” प्रवृत्ति लामो समयदेखि देखिँदै आएको दाबी गरेका छन् ।
ज्ञवालीले राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु नहुने पनि स्पष्ट पारेका छन् ।









