मदनकृष्णको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ बन्ने

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो ।
चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा गरेका हुन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ ।
बायोपिक ‘मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । मिलनले बायोपिक ‘बबी’ र ‘ब्लाइन्ड रक्स’ पनि निर्देशन गरेका थिए ।
नेपाली अभिनेताको बायोपिक बन्न लागेको यो पहिलोपटक हो । अन्य क्षेत्रका व्यक्तिको बायोपिक बने पनि नेपाली अभिनेताको बायोपिक भने हालसम्म बनेको थिएन । समग्र कलाकारमा भने गायक भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ बनेको थियो ।
मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । लोकप्रिय कलाकार भएकाले मदनकृष्णको बायोपिक प्रतिक्षित बन्ने निश्चित छ ।
चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।
भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ।डी। कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।









