रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भने: सत्य र न्यायको पक्षमा दृढ रहनु

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्य, न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिएका छन् ।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले छोटो अवधिमै हासिल गरेको राजनीतिक सफलतालाई नेपाली इतिहासको नयाँ खालको क्रान्तिको महत्वपूर्ण कडीका रूपमा आफूले लिएको बताएका हुन् ।

भट्टराईले आन्दोलन र संघर्षको परम्परागत बाटोभन्दा फरक ढंगले जनताको मन जितेर तथा आधुनिक प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गर्दै रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गरे ।

उनले भने, ‘रास्वपाले चार वर्षभित्र जुन उपलब्धि हासिल गरेको छ, आन्दोलन र संघर्षबाट भन्दा पनि जनताको मन जितेर, आधुनिक प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गरेर जसरी यो ऐतिहासिक सफलता हासिल गरेको छ, त्यसलाई नेपाली इतिहासको नयाँ क्रान्तिको एउटा कडीका रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ ।’

उनले आफ्नो पुस्ताका केही नेताहरूले रास्वपाको उदयलाई लिएर विभिन्न भ्रमपूर्ण व्याख्या गर्ने गरेको टिप्पणी पनि गरे ।

भट्टराईले भने, ‘मेरो पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ । उहाँहरू यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिरहनुभएको छ । तर मेरो स्पष्ट धारणा के छ भने सत्य र न्यायको पक्षमा तपाईंहरू दृढतापूर्वक उभिनुपर्छ ।’

उनले आफूले लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको पैरवी गर्दै आएको उल्लेख गर्दै रास्वपालाई त्यस अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको बताए ।

भट्टराईले भने, ‘म आफैँले नयाँ राजनीतिक शक्ति भन्दै वैकल्पिक राजनीतिक शक्तिको पैरवी गरेको हुँ । अहिले रास्वपालाई त्यही अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको छु ।’

उनले सुशासन र समृद्धिको प्रतिफल सबै नेपाली नागरिकसम्म पुग्ने गरी काम गर्न रास्वपालाई आग्रह गर्दै देशको राजनीतिक रूपान्तरणमा सकारात्मक भूमिका खेल्न शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =