थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप तीन स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ । आजदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाबाट मालपोत सेवा सुरु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो । यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह हुन थालेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले सेवा सञ्चालनको पहिलो दिन लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरणको औपचारिक सुरुवात गरेको थियो । मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजनाअन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार देशभरका इच्छुक पालिकामा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत सेवा विस्तार भइरहेको छ । यसअघि मन्त्रालयको आह्वानमा २०७ वटा स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको जानकारी गराएका थिए ।

स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गा प्रशासनसम्बन्धी कामका लागि जिल्ला सदरमुकामस्थित मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको छ ।

मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्था गर्दै आगामी दिनमा अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =