सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको हो: कानूनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेश ल्याउनु परेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडकबहादुर विश्वकर्माले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त स्पष्टीकरण दिएका हुन् ।

उनले सरकारले सांसदहरूले समेत लामो समयदेखि प्रश्न उठाएको उक्त विधेयकलाई संशोधन गरेर सरकारले जनताको जल्दाबल्दा समस्या समाधानको कामलाई सहज बनाएको दाबी गरे । उनले उक्त विधेयकमा केही समस्या भए समाधानका लागि प्रतिस्थापन विधेयक आउँदा सुधार गरेर लैजान सकिनेतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

मन्त्री गौतमले भने ‘संसद अधिवेशन बन्द भयो । सार्वजनिक खरिद ऐनले जहिले पनि अप्ठ्यारो परिरह्यो भन्ने कुरा यही संसदमा धेरै पटक कुरा उठिराखेको नै हो । अनि कसरी सम्बोधन गर्ने भन्दा त तत्काल जुन स्पिडमा सरकार हिँडिरहेको छ । कसरी सम्बोधन गर्ने रु भन्दा अध्यादेश ल्याएर सार्वजनिक खरिद सम्बन्धी व्यवस्थालाई संशोधन गरेर छिटो गरौँ भनेर अध्यादेश ल्याइएको हो । अव प्रतिस्थापन विधेयक ल्याउँदा मिलाउने ठाउँहरू छन् नै ।’

कानूनमन्त्री गौतमले सरकार जनताको समस्या समाधानका लागि गतिका साथ अघि बढेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =