खुश्वु ओलीको आरोप- सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले स्वार्थ समूहको प्रभाव बढनेगरी कर नीति ल्याएको आरोप लगाएकी छन् ।
शुक्रवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गर्नुभएको आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् ।
प्रमुख सचेतक ओलीले सरकारले आफूसँग कर सम्बन्धी असीमित अधिकार राखेर त्यसको सीमा समेत उल्लङ्घन गरेको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन् ‘विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन् । शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वास्थ्य पूर्वाधार लगानी शुल्क । शिक्षा शुल्क ठिक पनि सक्छ । तर शिक्षा समता शुल्कबाट वास्तवमा सरकारी विद्यालयको गुणस्तर बढ्ने सुनिश्चितता के छ ? त्यसै गरी स्वास्थ्य समता शुल्कबाट ग्रामीण स्वास्थ्य प्रणाली बलियो हुने कानुनी व्यवस्था कहाँ छ ? त्यसैले स्पष्ट रूपमा के देखिन्छ भने कर उठाउने संयन्त्र त बनाइएको छ । तर परिणाम सुनिश्चित हुने देखिएको छैन । वास्तविक प्रश्न भनेको सार्वजनिक विद्यालय किन कमजोर छन् ? सरकारी अस्पताल किन प्रभावकारी हुन सकेन ? भन्ने जस्ता प्रश्नहरू हुन । यसको समाधान शुल्कमा मात्रै छैन होला । हाम्रो समस्या संरचनागत नै हो । विधेयकमा सरकारलाई कर घटाउन, बढाउन व्यापक छुट दिएको छ । यसको अधिकारको सीमा के हो ? पारदर्शिता कसरी सुनिश्चित हुन्छ ? संसदको नियन्त्रण कहाँ छ ? यसले स्वार्थ समूहको प्रभाव बढ्ने देखिन्छ ।’
प्रमुख सचेतक ओलीले सरकारले सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीतका कर नीतिहरू थपेको भन्दै असन्तुष्टि पनि व्यक्त गरिन् ।









