जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछ: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले संसदले निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्ने पनि बताए । उनले सरकारले हजारौँ ठाउँहरूबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको पनि स्पष्ट पारे ।
उनले भने ‘सयौँ, हजारौँ स्रोतहरूबाट कर उठाउन सकिन्छ । र यसरी उठाएको कर यो प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने भनेर इयर मार्किङ पनि गर्न सकियो । तर त्यो सँगसँगै प्रशासनिक, कानुनी जटिलताहरू पनि आउँछन् । अर्को त्यो हजारौँ ठाउँबाट उठाइएका करहरू एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ । र, जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ । पूर्वाधारका लागि उठाइएको कर बुढी गण्डकीको क्षतिपूर्ति भनेर ४३ अर्ब बाडियोभनेर मैले हिजो पनि उदाहरण दिएको थिएँ । त्यो भनेर बुढी गण्डकीको छुट्टै डालो बनाइरहनु नपर्ला । त्यस्तै प्रदूषणको नाममा उठाइएको कर वातावरण मन्त्रालय, वातावरण विभाग, स्वास्थ्य मन्त्रालय त्यो विनियोजनबाट पनि रिफ्ल्याक्ट भई राखेको हुन्छ । अर्को विशेष खालको बजेट पनि व्यवस्था हुन्छ । त्यसको निर्देश गर्ने काम सार्वभौम संसदको हुन्छ ।’
अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानुनी जटिलता नआउने गरी सरकारले करको उपयोग गर्ने पनि बताए ।









