एमालेको आरोप- सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रबन्ध गर्यो

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारले विश्वविद्यालयहरूको उपकुलपति नियुक्ति कुलपतिले गर्ने हस्तक्षेपकारी प्रबन्ध गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा सरकारले हालै ल्याएको विश्वविद्यालयका उपकुलपतिहरूको छनौट र सिफारिसको सन्दर्भमा ल्याएको एकीकृत कार्यविधि, २०८३ मा विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीको हस्तक्षेपमा उपकुलपतिहरू निर्णय गर्ने हस्तक्षेपकारी प्रबन्ध गरेको भन्दै उनले आपत्ति जनाए ।
उक्त कार्यविधि अनुसार उपकुलपतिहरू विश्वविद्यालयमा नियुक्ति हुने हो भने मुलुकको शैक्षिक क्षेत्रमा ठुलो विस्फोट हुने सांसद बरालको चेतावनी थियो ।
उनले भने ‘आज देशले सुशासनको अपेक्षा गरेको छ । तर सरकार सुशासनको गम्भीर उलङ्घन गर्दै गइरहेको छ । हालै सरकारले विश्वविद्यालयका उपकुलपतिहरूको छनौट र सिफारिसको सन्दर्भमा एउटा एकीकृत कार्यविधि २०८३ जारी गर्यो सभामुख महोदय । जसमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था गरेको छ । त्यो आपत्तिजनक छ । प्राज्ञिक र न्यायिक आँखाले हामीले जाँच्नुपर्ने हुन्छ । यो विश्वविद्यालयको शैक्षिक स्वायत्तताको विषय यसमा खण्डित हुन्छ सभामुख महोदय । यो प्रक्रियाबाट जसरी कुलपतिले हस्तक्षेपकारी प्रबन्ध गरेर उपकुलपतिको नियुक्ति गर्ने अहिले जुन प्रयास भइरहेको छ । यो प्रयासलाई ठिक ढङ्गले अगाडि लैजान सकिएन भने शैक्षिक क्षेत्रमा एउटा ठुलो विस्फोटन हुन सक्ने सम्भावनालाई म ध्यानाकृष्ट गर्न चाहन्छु ।’
सांसद बरालले सरकारले सुशासनलाई गम्भीर उल्लङ्घन गर्दै एक पछि अर्को निर्णय गर्दै आएको भन्दै आक्रोश पनि व्यक्त गरे ।









