सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

दमौली । दमौलीको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् ।

घरायसी कामकाजमा मात्रै सीमित देखिने महिला नयाँ सीप सिक्दै उद्यमी बन्ने सपना बनाइरहेका छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक उद्यम विकास तालिमले मनहरीका महिलामा आत्मविश्वास र आशाको नयाँ सञ्चार गरेको हो ।

म्याग्दे–४ को सहजीकरणमा सञ्चालित तालिममा ३५ जना महिला सहभागी छन् । तालिममा सहभागीले आफ्नो भविष्यको आर्थिक आधार निर्माण गर्दै आत्मनिर्भर बन्ने तयारीमा जुटिरहेका छन् ।

महिलालाई आत्मनिर्भर बनाउन स्थानीय स्रोतसाधनको उपयोग गरेर आयआर्जन गर्न सकिने सीप सिकाउन थालिएको म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले बताए ।

उनका अनुसार नेपाली कागजबाट पूजाआजामा प्रयोग हुने सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ ।

त्यस्तै स्थानीयस्तरमा उपलब्ध हुने कृषि उत्पादन प्रयोग गरेर विभिन्न प्रकारका अचार बनाउने सीपसमेत प्रदान गरिएको उनले जानकारी दिए । तालिमस्थलमा सहभागी महिलाले करेला, आँप, कागती, खुर्सानीलगायत शाकाहारी अचार तयार गरिरहेका छन् ।

साथै मांसाहारीमा कुखुराको मासु, भैँसी तथा बँदेलको मासुको अचार बनाउने विधि सिक्दै उत्पादनलाई व्यावसायिक रूपमा कसरी बजारमा लैजान सकिन्छ भन्ने विषयमा जानकारी हासिल गरिरहेका न्यौपानेले बताए ।

आर्थिक विकास शाखा प्रमुख न्यौपानेले महिलालाई केबल सीप सिकाउने मात्र नभई उनहरूलाई उद्यमीका रूपमा स्थापित गराउनु मुख्य उद्देश्य रहेको उल्लेख गरे ।

“हामीले महिलाले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकुन् भन्ने लक्ष्य राखेका छौँ”, उनले भने, “स्थानीय स्रोत र सीपको प्रयोग गरेर महिलाले आफ्नै गाउँमा बसेर आयआर्जन गर्नसक्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । तालिमले उहाँहरूलाई सिर्जनशील र नवप्रवर्तनात्मक सोचतर्फ प्रेरित गरेको छ ।”

तालिमकी प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले महिलाको सिकाइप्रतिको उत्साह निकै प्रेरणादायी रहेको बताए । “सहभागीहरू नयाँ कुरा सिक्न अत्यन्त उत्साहित हुनुहुन्छ । उहाँहरूले उत्पादन बनाउने मात्र होइन, कसरी बजारमा बिक्री गर्ने, ग्राहकको आवश्यकता बुझ्ने र व्यवसायलाई दिगो बनाउने भन्ने विषयमा पनि चासो देखाउनुभएको छ”, उनले भने ।

तालिममा सहभागी सरस्वती श्रेष्ठले तालिम सीप सिक्ने अवसर मात्र नभएर जीवनमा नयाँ सम्भावना खोज्ने माध्यम पनि बनेको बताए ।

“हामीले यसअघि झोल साबुन उत्पादन गरेर सानो व्यवसाय गरिरहेका थियौँ”, उनले भने, “अब धूप, बत्ती र विभिन्न अचार उत्पादन गरेर बजारमा लैजाने योजना बनाएका छौँ ।”

म्याग्दे–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले महिलाको माग र आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकासँग समन्वय गरी तालिम सञ्चालन गरिएको जानकारी दिए ।

“महिलामा क्षमता छ, आवश्यक अवसर र सीप दिनुपर्छ, यसले आत्मनिर्भर बनाउँछ भन्ने लागेर सीप सिकाउन लागेका हौँ”, उनले भने, “यो तालिमले उहाँहरूलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ । अब सिकेको ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्ने जिम्मेवारी उहाँहरूकै हो ।”

तालिमको सफलताका लागि बजारीकरण पक्षलाई पनि प्राथमिकता दिइएको छ । गाउँपालिकाले पोखरास्थित साइनो किचन कर्नरसँग सहकार्य थालेको छ ।

उक्त संस्थाले आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा तालिमबाट उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =