बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टिबिसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ ।
कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिलो तथा हालसम्मको एक मात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ ।
कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ। उक्त मान्यता प्राप्त गर्न बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत सम्पूर्ण पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो ।
उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, शिक्षण तथा मूल्याङ्कन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधन, र गुणस्तर व्यवस्थापन तथा सुधारलगायत छ प्रमुख क्षेत्रमा तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले उक्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए ।
‘यो उपलब्धिले विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षा तथा शैक्षिक उत्कृष्टता हाम्रो प्राथमिकतामा रहेको थप विश्वास दिलाएको छ,’ उनले भने ।
द ब्रिटिस कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गरी नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
बिएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले बिएसीको मान्यताले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनजस्ता क्षेत्रमा संस्थाले कडा स्वतन्त्र मूल्याङ्कन सफलतापूर्वक पार गरेको प्रमाणित गर्ने बताइन् । उनले सन् २०२१ देखि बिएसी मान्यता प्राप्त द ब्रिटिस कलेजलाई सफल पुनः मान्यताका लागि बधाईसमेत दिएकी छन् ।
द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा सञ्चालन गरिएका अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम, उद्योग क्षेत्रसँगको सहकार्य तथा विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको छ । कलेजले प्राप्त गरेको पछिल्लो मान्यताले विद्यार्थी, अभिभावक, रोजगारदाता तथा शैक्षिक साझेदारहरूबीच संस्थाप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको कलेजले जनाएको छ ।
कलेजले हालै केही समूहबाट फैलाइएको भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट सफलतापूर्वक पुनः मान्यता प्राप्त गर्न सफल भएको जनाएको छ ।









