राप्रपाको महाधिवेशन आगामी मंसिरमा हुने, कार्यसम्पादन समितिद्वारा कार्यतालिका पारित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।

बिहीबार सम्पन्न बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका स्वीकृत गरेको पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताएका हुन् ।

बैठकले निर्वाचन समितिद्वारा प्रस्तुत नियमावली र निर्देशिकालाई समेत आवश्यक परिमार्जनसहित पारित गरेको उनले बताए । बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी अध्यक्ष लिङदेनले शुक्रवार बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि मुख्य एजेण्डाहरू तय गरिएको बताए ।

प्रस्तावित कार्यतालिकाअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गरिनेछ भने असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको कार्य पूरा गर्ने लक्ष्य राखिएको छ । महाधिवेशन प्रतिनिधिको छनोट र योग्यताका सम्बन्धमा पार्टीको विधान र परिमार्जित निर्वाचन निर्देशिकाले स्पष्ट पार्ने अध्यक्ष लिङदेनले जानकारी दिए ।

पार्टीको भावी संरचना र केन्द्रीय कार्य समितिको स्वरूप निर्धारणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले प्रस्ताव गर्ने विधान महाधिवेशनमा प्रस्तुत गरिने र सोही विधान बमोजिम नयाँ कार्यसमिति चयन हुने राप्रपाले जनाएको छ ।

बैठकमा महाधिवेशनको तयारीका साथै अन्य समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =