सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित: महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित भएको टिप्पणी गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सरकारका मन्त्रीले निर्माण व्यवसायीको हातखुट्टा भाँच्ने धम्की दिएको उल्लेख गर्दै हातखुट्टा नभाचेपनि औद्योगिक क्षेत्र ठिक ढंगले हिँड्न नसकेको व्याख्यात्मक टिप्पणी गरे । ठाकुरले उद्योगी–व्यवसायीहरू लगातार पलायन भइरहेको उल्लेख गर्दै नाफा आर्जन गर्न नसक्ने अवस्था भए उद्योग सञ्चालन गर्नुको औचित्य नहुने तर्क गरे ।
यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उनको जोड छ । उनले लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरू कोही जेल जाने अवस्थामा पुगेको र कोही गम्भीर रोगबाट पीडित रहेको उल्लेख गर्दै वर्तमान अवस्था लोकतान्त्रिक आन्दोलनको लक्ष्यअनुरूप नभएको टिप्पणी समेत गरे ।
उनले भने ‘सरकारको उच्च ओहोदामा बसेका व्यक्तिहरूले हातखुट्टा भाँच्ने काममा हुनुहुन्छ । तपाईँहरूको अनुहार हेर्दा तपाईँहरू सबै जना नवजवान हुनुहुन्छ, अलिकति जोस त आईहाल्छ । हातखुट्टा नभाँचे पनि हामी त सही ढंगले हिँड्न सकिरहेका छैनौँ । उद्योगी व्यवासायीहरु सबै पलायन भइराख्नुभएको छ नि । यदि नाफा नै कमाउँदैन भने किन उद्योग चलाएर बस्छ ? मुलुकमा लोकतन्त्र ल्याउनका लागि पुराना नेताहरूको ठुलो योगदान छ । तर कोही जेल जाने अवस्था आयो, कोहीलाई ठुलो रोगले सताएको छ । तर यो व्यवस्था उहाँहरूले यही देख्नका लागि ल्याएका हुन् त ? त्यसकारण हामीले यो विषयमा ध्यान दिनैपर्छ ।’
ठाकुरले निजी क्षेत्रको मनोबल खस्किँदै भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसके मुलुक थप आर्थिक विचलनमा जानसक्ने टिप्पणी पनि गरे ।









