अलपत्र आयोजनाहरूलाई छिटो सम्पन्न गर्नेगरी बजेट विनियोजन गरेको छः ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने र यसैवर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री श्रेष्ठले बजेट विनियोजनामा यसै वर्ष पूरा हुने आयोजनामा पनि जोड दिएको बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा ५ हजार ५३५ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको पनि बताए ।
मन्त्री श्रेष्ठले भने ‘यस पटक हामीले बजेट छर्ने भन्दा पनि लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने र यसैवर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको विषय म सम्माननीय सभामुखज्यूमार्फत गरिमामय संसदमा निवेदन गर्न चाहन्छु । आगामी आर्थिक वर्ष भित्र जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३ सय ७० मेगावाट गरी कूल एक हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता ५ हजार ५३५ मेगावाट पुर्याउने प्रक्षेपण गरिएको छ । साथै आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको पनि म स्मरण गराउन चाहन्छु ।’
मन्त्री श्रेष्ठले सरकारले उत्पादित विद्युत् खेर नजाने नदिने गरी आवश्यक गृहकार्य गरिरहेको पनि बताए ।









