लेबी नबुझाउने सदस्य रास्वपा महाधिवेशनमा भाग लिन नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा लेबी नबुझाउने सदस्यहरूले भाग लिन नपाउने भएका छन् ।
रास्वपाको बिहीबार बसेको सचिवालय बैठकले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनकाअनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्नेछ । लेबी नतिरेका सदस्यलाई तत्काल बुझाउन उनले आग्रह गरे ।
उनकाअनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । साथै, प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
यस्तै उनले महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बताए । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गर्ने पनि उनले जानकारी दिए ।
रास्वपाले महाधिवेशनमा निर्वाचन विद्युतीय भोटिङमार्र्फत गर्ने भएको छ । इलेकट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले बताए । त्यसको लागी आवश्यक कोटेसन र सम्झौताको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । इभिएम प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६–७ घण्टामै सम्पन्न गर्न सकिने उनको भनाई छ ।
परम्परागत विधिबाट दुई दिन लाग्ने प्रक्रिया छोटो समयमै सम्पन्न हुने र प्रतिनिधिहरूको बसाइ खर्चसमेत घट्ने भएकाले इभिएम प्रयोग गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
सचिवालय बैठकमा पार्टी विधान संशोधन सम्बन्धी विषयमा पनि छलफल भएको छ । सचिवालयले केन्द्रीय समिति बढाउनेगरी प्रस्ताव तयार गरेको छ । हालको प्रस्तावअनुसार पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने र प्रदेश समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गर्ने उनले जानकारी दिए । उनले पार्टी समायोजन सम्बन्धी कार्य अगाडि बढाउने र महाधिवेशनपछि पनि बाँकी काम गर्ने बताए ।
बैठकमा सातै प्रदेशको अधिवेशनको पनि समीक्षा गरिएको थियो । महामन्त्री बुर्लाकोटीकाअनुसार सात प्रदेशमध्ये मधेस प्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ भने बाँकी छ प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएका छन् । यसैबीच, केही जिल्लामा अधिवेशन हुन नसकेको उनले बताए ।
अधिवेशन हुन नसकेका जिल्लाको अवस्था अध्ययन गरी थप निर्णय गर्ने उनले जानकारी दिए । सचिवालय बैठकले पार्टीको निर्वाचन आचारसंहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न पनि सदस्यहरूलाई निर्देशन दिएको छ । महाधिवेशनअघि आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको पाइएकोले सबै सदस्यलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
महाधिवेशनलाई भव्य बनाउनको लागी विभिन्न उपसमितिहरूले काम गरिरहेको उनको भनाई छ । असार ६ गते साँझसम्म सम्पूर्ण तयारी सम्पन्न गरी असार ७ गते चितवनमा महाधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए ।









