चीनसँगको सहकार्यमा जोखिम बुझ्नू र कूटनीतिक सन्तुलन कायम राख्नू- पूर्वभारतीय विदेश सचिव गोखले

काठमाडौँ । भारतका पूर्वविदेश सचिव विजय गोखलेले दक्षिण एशियाका साना लोकतान्त्रिक राष्ट्रहरूलाई चीनसँग सहकार्य गर्दा यसका सम्भावित नकारात्मक पक्षहरू प्रति चनाखो रहन सुझाव दिएका छन् ।

उनले ठूला पूर्वाधार परियोजनाहरूमा पारदर्शिता कायम राख्न र क्षेत्रीय शक्तिहरूबीचको कूटनीतिक सन्तुलन गुम्न नदिन समेत सचेत गराएका हुन् ।

सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीले आयोजना गरेको ‘वोधि संवाद २०२६’ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै कूटनीतिज्ञ गोखलेले चीनका विकास सहायता र परियोजनाहरूमा पारदर्शिताको अभाव नै मुख्य चुनौतीका रूपमा रहेको औँल्याए । चिनियाँ परियोजनाका प्रतिकूल पक्षहरू लुकाउन सञ्चारमाध्यम र नागरिक समाजमाथि अदृश्य दबाब सिर्जना गरिने दाबी गोखलेले गरे ।

विकास सहायताको लोभमा परेका राष्ट्रलाई चीनले संकटमा पार्ने बताए ।

उनले भने ‘व्यक्तिगत सञ्चारमाध्यम, मिडिया हाउस वा सञ्चार संस्थाहरूमाथि चीनका लागि प्रतिकूल हुने समाचारहरू नलेख्न वा कतिपय आयोजना वातावरणीय वा आर्थिक रूपमा दिगो छैनन् भन्ने कुराहरूलाई उजागर नगर्न दबाब दिइन्छ । जब यस्तो मौनता लादिन्छ, दीर्घकालमा त्यो विकास सहायता प्राप्त गर्ने देशले नै दुःख भोग्नुपर्छ ।’

गोखलेले चीनले दक्षिण एसियाली मुलुकहरूमा सामाजिक सञ्चारमाध्यममार्फत अत्यन्तै परिष्कृत ढंगले ‘इन्फ्लुएन्स अपरेसन’ सञ्चालन गरिरहेको जिकिर गरे । कूटनीतिज्ञ गोखलेकोअनुसार चीनले परम्परागत सञ्चारमाध्यमभन्दा भिन्न शैलीमा डिजिटल प्रविधिको माध्यमबाट रणनीतिक रूपमा विचारधारा रोप्ने कार्य गरिरहेकोले ती देशको घरेलु राजनीति र छिमेकी देशप्रतिको दृष्टिकोणलाई समेत नियन्त्रण गरिरहेको आरोप लगाए ।

उनले भने ‘चीनले अत्यन्तै व्यवस्थित रूपमा डिजिटल माध्यमहरूको प्रयोग गरिरहेको छ, जहाँ उनीहरूले सामान्य समयमा नै सम्बन्धित देशका सामाजिक सञ्चारमाध्यमहरूमा प्रवेश गरी आफ्ना विचारहरू भित्र्याउँछन्, यसरी, जब उनीहरूले केही गर्ने समय आउँछ, तब ती विचारहरू बाहिरबाट नभई सम्बन्धित देशकै नागरिकहरू आफैँले अघि सारेको जस्तो देखिन्छ ।’

गोखलेले दक्षिण एशियाली मुलुकहरू (नेपाल, श्रीलंका, माल्दिभ्स, बंगलादेश) मा पछिल्लो समय चीनका ठूला पूर्वाधार परियोजनाहरूको जोखिमबारे सचेतना बढ्दै गएको र ‘प्रतिबद्धता र वास्तविक डेलिभरी’ बीचको खाडललाई नियाल्न थालिएको बताए । नेपाल लगायतका देशहरूले चीन, भारत, अमेरिका र युरोपेली संघ जस्ता शक्ति राष्ट्रहरूबीच सन्तुलित र व्यावहारिक कूटनीति अवलम्बन गर्न आवश्यक रहेको पनि बताए ।

एक अर्को प्रसङ्गमा एशियाका कतिपय देशको राजनैतिक र संसदीय प्रणाली चीनको भन्दा फरक रहेकोले मिडियालाई पहिला प्रयोग गरेको हुनसक्ने बताए । चीनले लोकतान्त्रिक देशहरूको आन्तरिक राजनीतिक गतिशीलता सहजै बुझ्न नसक्ने तर्क गोखलेले गरे । चीनले साफ्नो एकदलीय कम्युनिष्ट प्रणाली र दक्षिण एसियाका बहुदलीय लोकतन्त्रबीचको भिन्नतालाई लोकतान्त्रिक मुलुकले कसरी काम गर्छ भन्ने बुझ्नका लागि आफू पनि लोकतान्त्रिक हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =