रासायनिक मलको परनिर्भरता कम गर्दै लगिने- मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको परनिर्भरता कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
बुधवार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले रासायनिक मलको परनिर्भरता कम गर्नका लागि सरकारले जैविक, प्राङगारिक मलको उपयोग बढाउन आवश्यक बजेटको समेत व्यवस्था गरेको बताइन् ।
त्यसैगरी मन्त्री चौधरीले मलको लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता अर्थ मन्त्रालयले जनाएको जानकारी समेत दिइन् । उनले मलको वितरणलाई पारदर्शी बनाउनका लागि तीन वटै तहको सरकारले सहकार्य गरेर अघि बढ्ने व्यवस्था गरिएको पनि स्मरण गराइन् । मन्त्री चौधरीले आगामी आर्थिक वर्षको मलको आपूर्ति र व्यवस्थापन कार्ययोजना पनि तयार भइसकेको बताइन् ।
उनले भनिन् ‘रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्द्धनका लागि मन्त्रालयले जैविक, प्राङगारिक मलको उपयोग बढाउन आवश्यक बजेटको विनियोजन गरेको जानकारी गराउन चाहन्छु । प्राङगारिक मलमा अनुदानका लागि संघमा ३५ करोड र प्रदेशमा सशर्त अनुसार ११ करोड २४ लाख बजेट प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि ३२ अर्ब ४६ करोड रकम विनियोजन गरिएको छ । मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयले आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउन चाहन्छु । साथै आगामी आर्थिक वर्षको मलको आपूर्ति तथा व्यवस्थापन कार्ययोजना समेत तयार भइसकेको जानकारी गराउन चाहन्छु । मल वितरणमा संघ, प्रदेश र स्थानीय तहको बराबरी सहभागिताको पनि व्यवस्था गरिएको छ ।’
मन्त्री चौधरीले सरकारले किसानलाई राहत दिनका लागि आवश्यक अनुदान बजेटको पनि व्यवस्था गरेको बताइन् ।









