प्रविधिमैत्री विद्यार्थी उत्पादनमा लाइफ कम्प्युटरको ८ वर्षे यात्रा: सिजन ८ को तयारी पूरा

काठमाडौँ। एसइई (SEE) परीक्षा दिएर बसेका विद्यार्थीहरूमा सूचना प्रविधिको व्यावहारिक ज्ञान र सिर्जनशीलता विकास गर्ने उद्देश्यले लाइफ कम्प्युटरले ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ आयोजना गरेको छ। प्रतियोगिताको फाइनल असार ६ गते काठमाडौँस्थित होटेल हार्दिकमा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको तयारीबारे जानकारी दिँदै लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलले समयको मागअनुसार प्रविधिको सही सदुपयोग आजको आवश्यकता रहेको बताए।

“हामी अहिले पूर्ण रूपमा डिजिटल युगमा छौँ। यो प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउनु मात्र होइन, प्रविधिलाई आफ्नो जीवनशैलीको अभिन्न अङ्ग बनाएर कसरी सकारात्मक दिशामा अगाडि बढ्ने भन्ने सिकाउनु पनि हो,” पोखरेलले भने।

उनले प्रविधिको माध्यमबाट विद्यार्थीहरूमा नकारात्मक प्रभावभन्दा सिर्जनात्मक र ज्ञानवर्धक अभ्यासको संस्कार विकास गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रम संयोजक लक्ष्मी खत्रीले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै विद्यार्थीहरूले वेबसाइट निर्माणमार्फत आफ्नो प्राविधिक कौशल र सिर्जनशीलता प्रस्तुत गर्ने बताइन्।

“यो प्रतियोगिता केवल प्रविधि सिक्ने माध्यम मात्र नभई विद्यार्थीहरूको आत्मविश्वास र सार्वजनिक प्रस्तुतीकरण क्षमता अभिवृद्धि गर्ने सशक्त मञ्चसमेत हो,” उनले भनिन्।

विगत आठ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो प्रतियोगिता विद्यार्थीहरूका लागि प्रविधि र करियरको भविष्य कोर्ने विश्वसनीय प्लेटफर्म बनेको आयोजकको दाबी छ।

देशभरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने प्रतियोगितामा सहभागीहरूलाई लाइफ कम्प्युटरले विशेष प्राविधिक मार्गदर्शन उपलब्ध गराएको छ। किताबमा सिकेका सिद्धान्तलाई व्यवहारमा उतार्न चाहने विद्यार्थीहरूका लागि यो प्रतियोगिता महत्त्वपूर्ण अवसरका रूपमा रहेको बताइएको छ।

वि.सं. २०६८ देखि सूचना प्रविधिको क्षेत्रमा सक्रिय लाइफ कम्प्युटर आइटी प्रशिक्षणको अग्रणी संस्थामध्ये एक हो। बागबजारमा मुख्य कार्यालय रहेको संस्थाले ललितपुरको कुमारीपाटी र काठमाडौँको सोह्रखुट्टेमा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थाले सफ्टवेयर विकास, मोबाइल एप निर्माण, वेब डिजाइन तथा ग्राफिक मल्टिमिडियालगायत क्षेत्रमा व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ।

प्रतियोगितामा सहभागी हुन वा थप जानकारी लिन इच्छुक विद्यार्थीहरूले लाइफ कम्प्युटरको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। असार ६ गते होटेल हार्दिकमा हुने कार्यक्रममा अन्तिम मूल्याङ्कनपछि विजेताको घोषणा गरिने आयोजकले जानकारी दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =