अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आईतवार अमेरिका र इरानबीचको शान्ति सम्झौता अहिले पूर्ण भएको घोषणा गरेका छन् । यसका साथै उनले हर्मुज जलडमरुमध्यलाई निःशुल्क (टोल–मुक्त) रूपमा खुला गर्न र इरानी बन्दरगाहहरू विरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिए ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन् “इरानको इस्लामिक गणतन्त्रसँगको सम्झौता अब पूर्ण भएको छ । म यसद्वारा हर्मुज जलडमरुमध्यलाई निःशुल्क खुला गर्ने पूर्ण अधिकार दिन्छु र यससँगै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने अनुमति पनि प्रदान गर्दछु ।”
उनले थप उत्साह व्यक्त गर्दै लेखेका छन्, “विश्वका जहाजहरू हो, आफ्ना इन्जिनहरू सुरु गर । अब तेललाई बग्न देऊ!”
यसअघि द वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यस सम्झौतामा आफूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गर्ने वा उपराष्ट्रपति जेडी भान्सले व्यक्तिगत रूपमा उपस्थित भई हस्ताक्षर गर्ने बताएका थिए ।
सम्झौताअनुसार इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिवद्धता जनाउने र हर्मुज जलडमरुमध्य तत्काल पुनः खुला गरिने ट्रम्पले बताए । इरानबाट आणविक सामग्रीहरू हटाउन कुनै हतारो नरहेको उल्लेख गर्दै उनले भने “त्यहाँ कुनै हतार छैन । हामी तयार भएपछि पछि गएर आणविक धुलो ल्याउनेछौँ । मलाई लाग्छ आगामी एक वा दुई महिनाभित्र यो काम हुनेछ, अहिले कुनै हतार छैन ।”
इरानीहरूमाथि कडा आणविक निरीक्षण हुने ट्रम्पले बताए तापनि यो निरीक्षण कसरी सञ्चालन हुनेछ भन्नेबारे उनले स्पष्ट खुलाएनन् । सम्झौता अन्तर्गत इरानलाई कुनै नगद उपलब्ध गराइने छैन, तर उनीहरूमाथि लगाइएका प्रतिबन्धहरू सम्भावित रूपमा फुकुवा हुनसक्ने ट्रम्पले बताए ।
ट्रम्पले यस सम्झौताको घोषणा गर्नु केही समयअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्याण्डमा हुने तय भएको जानकारी दिएका थिए ।









