युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

एजेन्सी । आफ्ना प्राचीन स्मारक र भूमध्यसागरीय तटीय सौन्दर्यका लागि प्रसिद्ध दक्षिणी लेबनानी शहर टायरमा इजरायल र हिज्बुल्लाहबीचको हालैको सैन्य द्वन्द्वको गहिरो डोब प्रष्ट देखिन थालेको छ ।

महिनौंसम्म चलेको द्वन्द्वका कारण क्षतिग्रस्त भएका भवनहरू, ध्वस्त पारिएका सवारी साधनहरू र उजाडिएका बस्तीहरूले युद्धको विभिषिकालाई अझै पनि झल्काइरहेका छन् ।

शहरभरि इजरायली हवाई हमलाका निशानहरू अझै पनि प्रत्यक्ष देखिन्छन् । धेरै आवासीय भवनहरू भग्नावशेषमा परिणत भएका छन् भने टायरको ऐतिहासिक पहिचान बोकेका प्राचीन सम्पदा स्थलहरू नजिकै क्षतिग्रस्त संरचनाहरू ठडिएका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार यस लडाइँका क्रममा सहरले बारम्बार ठूला आक्रमणहरू खेप्नुप¥यो, जसका कारण यहाँ व्यापक क्षति पुगेको छ । यस्तो विनाशका बाबजुद पनि सहरका केही भागहरूमा जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ ।

भग्नावशेषका बीचमा लेबनानी झण्डाहरू फहराइरहेका देखिन्छन्, जसलाई स्थानीय बासिन्दाहरू सहरको जीवन्तता र पुनरुत्थानको प्रतीक मान्छन् । हजारौं वर्ष पुरानो समृद्ध इतिहास बोकेको टायर सहर लेबनानका सबैभन्दा महत्त्वपूर्ण पुरातात्विक धरोहरहरूको घर हो । तर आफ्नो प्राचीन सम्पदा जोगाउने चुनौतीसँगै अहिले यस सहरसामु युद्धमा ध्वस्त भएका बस्तीहरू पुनर्निर्माण गर्नुपर्ने ठूलो जिम्मेवारी पनि आइपरेको छ ।

पुनर्निर्माणका प्रयासहरू जारी रहँदा, तटीय शहरभरि छरिएका भग्नावशेषहरूले द्वन्द्वको मानवीय र भौतिक क्षतिको सम्झना गराइरहने स्थानीय बताउँछन् । यद्यपि, टायरको ऐतिहासिक चरित्र र सामुदायिक जीवनलाई अक्षुण्ण राख्न धेरै बासिन्दाहरू दृढ संकल्पित देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =