विचार

नेपाली भाषाको जन्मस्थल सिञ्जाः इतिहास बोलिरहेको छ, राज्य भने मौन

नेपालको राष्ट्रिय भाषा नेपालीको उत्पत्तिस्थल मानिने सिञ्जा उपत्यका आज आफ्नै इतिहास बचाउन संघर्ष गरिरहेको छ । करिब आठ सय वर्षअघि खस मल्ल साम्राज्यको शक्ति, शासन र संस्कृतिको केन्द्र रहेको सिञ्जा दरबार क्षेत्र अहिले संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएको छ । जहाँ कुनै समय राजदरबारका आँगनमा राज्य सञ्चालनका निर्णय हुन्थे, जहाँ ‘खस कुरा’ राजकीय भाषाका रूपमा बोलिन्थ्यो, आज त्यही ठाउँका ढुङ्गा, भत्किएका पर्खाल र जीर्ण संरचनाहरूले मौन भएर आफ्नो गौरवशाली विगत सम्झिरहेका छन् ।

नेपालको इतिहासमा सिञ्जा एउटा भौगोलिक स्थान मात्र होइन । यो नेपाली भाषा, खस सभ्यता, मध्यकालीन राज्य व्यवस्था र सांस्कृतिक पहिचानको केन्द्र हो । तर विडम्बना, यति महत्वपूर्ण सम्पदा राज्यको प्राथमिकतामा पर्न सकेको छैन ।

खस साम्राज्यको गौरवशाली राजधानी

इतिहासकारहरूका अनुसार खस राज्यका प्रमुख संस्थापक राजा नागराज थिए । १२औँ शताब्दीबाट सिञ्जा उपत्यकाले खस मल्ल साम्राज्यको राजधानीको रूपमा विकास पायो । राजा नागराजबाट सुरु भएको राज्य विस्तार हुँदै विशाल साम्राज्यमा परिणत भयो ।

खस साम्राज्य पश्चिम नेपालदेखि कुमाऊँ र गढवाल हुँदै काकडासम्म फैलिएको थियो । दक्षिणतर्फ तिनाउ नदीसम्म यसको प्रभाव रहेको उल्लेख विभिन्न ऐतिहासिक स्रोतहरूमा पाइन्छ । त्यतिबेला खस साम्राज्य राजनीतिक रूपमा मात्र होइन, धार्मिक र सांस्कृतिक दृष्टिले पनि अत्यन्त प्रभावशाली मानिन्थ्यो ।

त्यसबेला राज्यभित्र पर्ने चार प्रसिद्ध धामहरु द्रीनाथ, केदारनाथ, छायाँनाथ र मुक्तिनाथ खस राज्यको धार्मिक महत्वका प्रतीक थिए । सिञ्जाबाट शासन सञ्चालन हुने समयमा यी क्षेत्रहरूलाई जोड्ने सांस्कृतिक सम्बन्धले सम्पूर्ण हिमाली क्षेत्रलाई एउटै सभ्यतामा बाँधेको थियो ।

सिञ्जाको सबैभन्दा ठूलो ऐतिहासिक महत्व नेपाली भाषासँग जोडिएको छ । उपत्यकाका विभिन्न चट्टान, मन्दिर र ऐतिहासिक स्थलहरूमा भेटिएका १३औँ शताब्दीका देवनागरी लिपिका अभिलेखहरू नेपाली भाषाका प्रारम्भिक लिखित प्रमाण मानिन्छन् ।

भाषाविद्हरूका अनुसार आजको नेपाली भाषाको प्रारम्भिक स्वरूप ‘खस कुरा’ सिञ्जा क्षेत्रमा विकसित भएको थियो । यही भाषाले कालान्तरमा परिष्कृत हुँदै आधुनिक नेपाली भाषाको रूप लियो ।

यसै कारण सिञ्जालाई नेपाली भाषाको जन्मस्थलका रूपमा चिनिन्छ । संसारका धेरै राष्ट्रहरूले आफ्नो भाषा जन्मिएको स्थानलाई राष्ट्रिय गौरवको केन्द्रका रूपमा संरक्षण गरेका छन् । तर नेपालमा भने नेपाली भाषाको उद्गमस्थल नै उपेक्षामा परेको देखिन्छ ।

सिञ्जा दरबार क्षेत्रभित्र अवस्थित कनका सुन्दरी गढीमाई भगवती मन्दिर खस सभ्यताको महत्वपूर्ण धार्मिक केन्द्र मानिन्छ । खसहरूको कुलदेवीका रूपमा पूजिने गढीमाईसँग स्थानीय जनविश्वास मात्र होइन, ऐतिहासिक पहिचान पनि जोडिएको छ ।

सयौं वर्ष पुरानो यो धार्मिक सम्पदाले सिञ्जाको सांस्कृतिक निरन्तरताको प्रतिनिधित्व गर्छ । तर मन्दिर आसपासका ऐतिहासिक संरचनाहरू समेत समयसँगै जीर्ण बन्दै गएका छन् ।

शक्तिशाली साम्राज्य कसरी विघटन भयो ?

१४औँ शताब्दीको अन्त्यतिर खस साम्राज्य कमजोर हुन थाल्यो । राजपरिवारभित्र उत्तराधिकारको विवाद चर्किँदै गयो । प्रशासनिक कमजोरी बढे । स्थानीय शक्तिहरू बलिया बन्दै गए ।

परिणामस्वरूप विशाल खस राज्य टुक्रिँदै बाइसे (२२) र चौबिसे (२४) राज्यमा विभाजित भयो । राज्य विभाजनसँगै सिञ्जाले आफ्नो राजनीतिक प्रभाव गुमायो । राजधानीको गौरव समाप्त भयो र इतिहासको केन्द्र बिस्तारै ओझेलमा पर्न थाल्यो ।

तर राजनीतिक शक्ति समाप्त भए पनि सिञ्जाको सांस्कृतिक र भाषिक महत्व भने कहिल्यै समाप्त भएको थिएन । आज पनि यहाँका शिलालेख, पुराना दरबार क्षेत्र, धार्मिक स्थल र पुरातात्त्विक अवशेषहरूले नेपालको मध्यकालीन इतिहासको महत्वपूर्ण अध्याय बोकेका छन् ।

संरक्षणको पर्खाइमा इतिहास

आज सिञ्जा पुग्ने जो कोहीले एउटा प्रश्न सोध्न बाध्य हुन्छ– यति ठूलो इतिहास बोकेको क्षेत्र किन यति उपेक्षित छ ?

दरबार क्षेत्रका धेरै संरचनाहरू भत्किँदै गएका छन् । कतिपय पुरातात्त्विक अवशेष खुला आकाशमुनि छन् । वर्षा, हावा र प्राकृतिक क्षरणका कारण ऐतिहासिक सम्पदा क्रमशः नष्ट भइरहेका छन् ।

स्थानीयवासीहरूका अनुसार संरक्षणको नाममा हुने गतिविधि अत्यन्त न्यून छन् । सिञ्जाको ऐतिहासिक महत्वबारे राष्ट्रिय स्तरमा चर्चा हुने भए पनि व्यवहारमा आवश्यक लगानी र योजना भने देखिएको छैन ।

लुम्बिनी बुद्ध जन्मिएको स्थल भएकाले विश्वभर चिनिएको छ । पशुपतिनाथ हिन्दूहरूको आस्थाको केन्द्र भएकाले ठूलो लगानी भइरहेको छ । तर नेपाली भाषाको जन्मस्थल सिञ्जा किन राज्यको प्राथमिकतामा पर्दैन ?

सिञ्जामा इतिहास, संस्कृति, भाषा, धर्म र प्राकृतिक सौन्दर्य सबै छन् । तर ती सम्भावनाहरू अझै पूर्ण रूपमा उपयोग हुन सकेका छैनन् ।

यदि सिञ्जालाई ‘नेपाली भाषाको जन्मस्थल’ का रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकियो भने यहाँ सांस्कृतिक पर्यटनको ठूलो सम्भावना छ । इतिहास अध्ययन गर्ने अनुसन्धानकर्ता, विद्यार्थी, भाषा विज्ञ तथा पर्यटकहरूका लागि सिञ्जा आकर्षक गन्तव्य बन्न सक्छ ।

यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढाउन पनि मद्दत गर्नेछ ।

अब राज्यले के गर्नुपर्छ ?

उसो त, इतिहासकार, स्थानीयवासी र सरोकारवालाहरू सिञ्जाको संरक्षण अब ढिलो गर्नु नहुने बताउँछन् । तर त्यसका लागि राज्य तयार भएको छैन । राज्यको आँखा सिञ्जाको संरक्षण परेको छैन ।

सरकारले तत्काल तीन महत्वपूर्ण काम अघि बढाउन आवश्यक छ ।

पहिलो– सिञ्जा दरबार क्षेत्रको वैज्ञानिक पुनःसंरक्षण र व्यवस्थापन गर्नुपर्छ ।

दोस्रो– शिलालेख, मन्दिर, गुम्बा तथा पुरातात्त्विक अवशेषहरूको आधुनिक प्रविधिबाट संरक्षण गर्नुपर्छ ।

तेस्रो– विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा सिञ्जाको इतिहासलाई प्रभावकारी रूपमा समावेश गर्नुपर्छ, ताकि नयाँ पुस्ताले आफ्नो भाषाको उत्पत्ति र सभ्यताको इतिहास बुझ्न सकून् ।

इतिहास जोगाउने कि गुमाउने ?

सिञ्जाको प्रश्न एउटा गाउँ, उपत्यका वा जिल्लाको प्रश्न होइन । यो त नेपाली भाषाको प्रश्न हो । यो राष्ट्रिय पहिचानको प्रश्न हो । नेपालको ऐतिहासिक स्मृतिको प्रश्न हो ।

आज नेपाली भाषा बोल्ने करोडौं मानिस छन् । तर त्यो भाषा जन्मिएको भूमि भने मौन छ । त्यहाँका ढुङ्गाहरूले इतिहास सुनाउन खोजिरहेका छन्, तर सुन्ने कान कम हुँदै गएका छन् ।

यदि आज पनि सिञ्जालाई बेवास्ता गरियो भने भोलिका पुस्ताले नेपाली भाषाको जन्मस्थललाई केवल पुस्तकका केही हरफमा सीमित भएको देख्नुपर्नेछ । तर यदि समयमै संरक्षण गरियो भने सिञ्जा फेरि एकपटक नेपाली इतिहास, भाषा र सभ्यताको गौरवशाली केन्द्रका रूपमा स्थापित हुन सक्छ ।

यो पनि पढ्नुहोस्: सिंजा सभ्यता र कनका सुन्दरी भगवतीः उपेक्षित धरोहरप्रति हाम्रो दायित्व

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =