विपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

काठमाडौं । गत असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको विपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकोले वर्षाअघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तिब्रता दिइएको छ ।

आफूहरुको मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई, स्थायी संरचनामार्फत यातायात सञ्चालन गर्ने रहेको बताए । उनका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सडक संरचनाको किनाराबाट गुड्नेछन् ।

निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुंगेलले रातदिन काम गरेर असार १५ भित्रै सडक सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनकाअनुसार बक्सिगुना खण्डको २३० मिटरमध्ये अब ७० मिटर मात्र बाँकी छ । आगामी ४–५ दिनमै त्यसलाई सवारी चलाउन सकिने गरी निर्माण भइरहेको छ । बाढीले तीन पटकसम्म क्षति पु¥याए पनि हाल सामग्री र जनशक्तिको अभाव नरहेको उहाँको भनाइ छ ।

२०८१ असोज १२ र १३ गतेको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । पहिलो खण्डमा भकुण्डेबेँसीदेखि चारसयबेँसी ११.८ कि.मीको काम चलिरहेको छ । नवकान्तिपुर लामा जेभीले काम गरिरहेको यस खण्डको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी छ ।

दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेशी ८.५ कि.मी हो । यसमा कमलजीत एवान जेभीले काम गरिरहेको छ । यस्तै, तेस्रो खण्ड अन्तर्गत डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको छ ।

पुनर्निर्माणसँगै विपी राजमार्गको यो खण्ड अब ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति भई पूर्ण दुई लेनको मानक सडक बन्ने भएको छ । डिभिजन प्रमुख योगेशका अनुसार अब सडकको चौडाइ न्युनतम ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर रहनेछन् ।

सुरुवाती डिजाइनमा सानो सवारी चापको अनुमान गरिए पनि अहिलेको आवश्यकतालाई हेरेर सडक विस्तार गर्न लागिएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =