वन कार्यालयको स्पष्टीकरणः ‘कवाडी टेम्पो खसालिएको होइन, आफैं खस्यो’

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा फैलिएको विषयप्रति डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो घटना नभएको र यथार्थभन्दा फरक ढंगले सूचना सम्प्रेषण गरिएको दाबी गरेको छ ।
वन कार्यालयका अनुसार उक्त क्षेत्र चुरे क्षेत्रअन्तर्गत पर्ने संवेदनशील पर्यावरणीय क्षेत्र हो । सडक किनारको सार्वजनिक वन जमिनलाई गैरकानुनी रूपमा भागबण्डा गरी बिक्री गर्ने तथा खोका–छाप्रा निर्माण गरेर वन क्षेत्र अतिक्रमण गर्ने गतिविधि लामो समयदेखि हुँदै आएकोले वन प्रशासनले समय–समयमा नियन्त्रण गर्दै आएको जनाएको छ ।
कार्यालयका अनुसार करिब पाँच महिनाअघि पुनः अवैध खोका–छाप्रा निर्माण गरिएपछि अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको थियो । सामाजिक सञ्जालमा उल्लेख गरिएको टेम्पो गुड्ने अवस्थामा नरहेको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा केवल पसल सञ्चालन गर्ने टहराको रूपमा प्रयोग गरिएको फलामे अवशेष मात्र रहेको विज्ञप्तिमा उल्लेख छ ।
वन कार्यालयले एक महिनाअघि नै उक्त संरचना हटाउन निर्देशन दिएको भए पनि सम्बन्धित व्यक्तिले अटेर गरेको जनाएको छ । त्यसपछि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पु¥याइदिएको तर पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको कार्यालयको दाबी छ ।
जेठ २९ गते पुनः अतिक्रमण हटाउने क्रममा वन टोलीले गुड्न नसक्ने उक्त टेम्पोलाई हटाउन खोजेको र भिरालो भू–सतह तथा असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भिरबाट खसेको कार्यालयले स्पष्ट पारेको छ।
वन कार्यालयले कानुनबमोजिम गरिएको कार्यलाई अतिरञ्जित तथा भ्रामक ढंगले प्रचार–प्रसार नगर्न र सत्यतथ्य बुझ्न सबैमा अनुरोध गरेको छ ।









