अर्थमन्त्री लक्षित प्रदीप पौडेलको कटाक्ष- सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै प्रतिपक्षमा रहँदा बजेट चुहावट र अनियमितताको छानबिनको माग गर्नेहरू नै सत्तामा पुगेपछि मौन रहने गरेको उनले बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले विगतमा बजेट ल्याउँदा चुहावट भयो, यसको छानबिन हुनुपर्छ भन्ने गरेको स्मरण गर्दै सत्तामा पुगेपछि आफूहरूमाथि प्रश्न उठ्दा ‘मलाई प्रश्न नगर, म तिमीमाथि प्रश्न गर्छु भन्ने गरेको टिप्पणी गरे ।

उनले अर्थमन्त्री वाग्लेले म मात्रै बिग्रिएको होइन, तिमी मभन्दा बढी बिग्रिएका छौ भनेर जवाफ दिनु राम्रो नभएको बताए । आफूमाथि प्रश्न उठेपछि अर्थमन्त्रीले तिमीले मेरो कुरा नगर, म पनि तिम्रो कुरा गर्दिन भनेर संसदबाटै भनेको बताए । उनले वर्तमान सरकार कमजोर होस्, काम गर्न नसकोस् त्यसपछि आफूहरूको पालो आउँछ भनेर नबसेको पनि स्पष्ट पारे ।

सरकारले आम नागरिकको भरोसा र विश्वास डगमगाउने स्थिति बनाउन नहुनेतर्फ सचेत गराए ।

उनले भने ‘हामी यो सरकार कमजोर होस्, यसले काम गर्न नसकोस्, अनि त्यसपछि हाम्रो पालो आओस् भनेर सोचिरहेका छैनौँ । आम नागरिकको भरोसा र विश्वास डगमगाउने स्थिति नबनोस्, यो व्यवस्था सुरक्षित रहोस्, र जनताले आफ्ना प्रतिनिधि छनोट गर्ने समावेशी व्यवस्था कसैले पनि भत्काउन नसकोस् भन्ने हाम्रो चाहना हो । तर परिस्थिति त्यस्तो बनिरहेको देखिँदैन । अब स्वास्थ्य क्षेत्रको सवालमा, अघिल्लो पटक मैले यहीँ आएर बोलेको कुरा निकै भाइरल भएको थियो ।

मैले भनेको थिएँ, सरकारले अस्पतालहरूको भुक्तानी गर्न सक्दैन, बीमा यसरी चल्न सक्दैन, यस्तै ढंगले बीमा सञ्चालन गरिरहियो भने यसले आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन, नागरिकलाई सेवा दिन पनि सक्दैन, र सरकारले नागरिकलाई सेवा दिएको अनुभूति गराउन पनि सक्दैन । तर त्यसो भन्नुको अर्थ स्वास्थ्य बीा बोर्ड खारेज गर्नुपर्छ भन्ने होइन । अघि यहाँ बोल्नुभएका सबै वक्ताहरूका भनाइहरू अत्यन्त माननीय छन् ।

नेताहरूले जनताका अगाडि धेरै कुरा बोल्छन्, जनताको पक्षमा बोल्छन् । जनताले कुन कुरा सुन्दा ताली बजाउँछन्, प्रायः त्यही कुरा बोल्छन् । तर सत्तामा पुगेपछि व्यवहार भने त्यसको ठिक विपरीत देखिन्छ । हिजोसम्म बजेट ल्याउँदा चुहावट भयो, यसको छानबिन हुनुपर्छ भन्नेहरू नै फेरि अर्थमन्त्री हुनुभएको छ । आफूहरूमाथि प्रश्न उठ्दा ‘मलाई प्रश्न नगर, म तिमीमाथि प्रश्न गर्छु । म मात्रै बिग्रिएको होइन, तिमी मभन्दा बढी बिग्रिएका छौ । त्यसैले हामी कुरा मिलाऔँ तिम्रो कुरा म गर्दिनँ, मेरो कुरा तिमी नगर’ भन्ने प्रवृत्तिमा प्रस्तुत भइरहेको अवस्था देखिन्छ ।’

महामन्त्री पौडेलले नेताहरूले जनताका सामु गर्ने प्रतिबद्धता र सत्तामा पुगेपछिको कार्यशैलीबीच ठुलो खाडल रहेको भन्दै यसलाई सुधार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =