‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आइएमई अब केवल एउटा रेमिट्यान्स कम्पनीमा मात्र सीमित नरही पूर्ण ‘फाइनान्सियल इकोसिस्टम’ (वित्तीय प्रणाली) का रूपमा अघि बढ्ने उद्घोष गरेका छन् ।

आइएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कम्पनीको आगामी कार्यदिशा र बजारको बदलिँदो स्वरूपअनुसार अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष ढकालले हालसम्म आइएमईले व्यक्ति–देखि–व्यक्ति रेमिट्यान्स सेवामा प्रभुत्व जमाएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता व्यवसाय–देखि–व्यवसाय सेवा हुने बताए । उनले बीटुबी सेवालाई कम्पनीको आगामी विकासको ‘गेम चेन्जर’ का रूपमा अर्थ्याए ।

हालै स्ट्राइपसँगको साझेदारीमा खल्ती वालेटमार्फत विदेशबाट सहजै रकम भित्र्याउन सकिने वातावरण बनेको उदाहरण दिँदै उनले अब नेपाली उत्पादन र सेवालाई विश्व बजारमा निर्यात गर्ने व्यवसायीहरूलाई समेत वित्तीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । बदलिँदो प्रविधिको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ जस्ता नवीनतम प्रविधिलाई आत्मसात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

प्रविधिको विकाससँगै सुरक्षा संवेदनशीलता पनि बढेकाले वित्तीय कारोबारलाई अझ सुरक्षित र विश्वसनीय बनाउनुपर्ने चुनौती रहेको उनले औँल्याए ।

उनले भने ‘हामीले सुरुमा एउटा मनी ट्रान्सफरका रूपमा काम थालेका थियौँ, तर अब हामी बैंकिङ, बीमा र डिजिटल वालेटसहितको एकीकृत वित्तीय सेवा प्रदान गर्ने दिशामा अघि बढिसकेका छौँ । एउटै प्लेटफर्मबाट हाम्रा ग्राहकलाई डिजिटल र भौतिक दुवै रूपमा गुणस्तरीय सेवा दिनु नै हाम्रो मुख्य लक्ष्य हो । नियामक निकायको अपेक्षाअनुसार कम्प्लायन्सलाई थप प्रभावकारी बनाउन नयाँ टुल्स र प्रविधिको प्रयोग अपरिहार्य छ ।’

आफ्ना कर्मचारीहरूलाई ‘इनोभेटर’ को संज्ञा दिँदै अध्यक्ष ढकालले नयाँ सोच र अवधारणा लिएर आउन आग्रह गरे । उनले नवप्रवर्तनका क्रममा हुने असफलतालाई सिकाइको पाटोका रूपमा लिनुपर्ने बताए । अध्यक्ष ढकालले ग्राहकको अपेक्षा र आवश्यकता बुझ्न निरन्तर सिकाइ आवश्यक रहेको उल्लेख गर्दै समयको गतिसँगै चल्न नसक्ने कम्पनीहरू पछि पर्ने चेतावनी समेत दिए ।

विश्व बजारको पछिल्लो प्रवृत्तिअनुसार कम्पनीलाई अझ प्रतिस्पर्धी र ग्राहकमुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =