उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी सार्वजनिक गरेको छ ।

उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध गराएको छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सकिन्छ ।

यो स्मार्ट फोन लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ । यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू खिच्न सक्छ । ३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत गर्छ ।

यस स्मार्टफोनमा फोर के ६०फ्रेम–प्रति–सेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि समावेश गरिएको छ । यसले प्राकृतिक पृष्ठभूमिलाई धमिलोपन (बोकेह) सिर्जना गर्दै थप जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्छ । परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै शाओमी १७टी ले लाइभ मोमेन्ट सुविधा प्रस्तुत गरेको कम्पनीले जानकारी दिएको छ ।

शाओमी १७टी मा १/१.५५ इन्च आकारको ठुलो इमेज सेन्सर प्रयोग गरिएको छ । लेइका अल्ट्रा पियोर अप्टिकल डिजाई तथा १जि प्लस सिक्स पी हाइब्रिड लेइका सेमीलुक्स विशेष लेन्स संरचनाले सूक्ष्म विवरणहरूलाई अत्यन्त स्पष्ट रूपमा प्रस्तुत गर्छ । यसमा भएको प्रकाश छिर्ने ठुलो भाग (एपर्चर) का कारण यसले फराकिलो प्रकाश सन्तुलन र आकर्षक प्रभाव प्रदान गर्दछ ।

शाओमी १७टी मा ६,५०० एमएएच क्षमताको विशाल ब्याट्री रहेको छ, जुन अघिल्लो जेनेरेशनको तुलनामा १८ प्रतिशत बढी क्षमता भएको बताइएको छ । ६७ वाट फास्ट चार्जिङ प्रविधिको सहयोगले प्रयोगकर्तालाई दिनभर पर्याप्त ऊर्जा उपलब्ध गराउँछ ।

यो स्मार्टफोन ४ न्यानोमिटर प्रविधिमा आधारित शक्तिशाली प्रोसेसर मिडिया टेक डाइमेनसिटी ८५०० अल्ट्राद्वारा सञ्चालित छ । यसले प्रोसेसर, ग्राफिक्स तथा एआई सम्बन्धी क्षमतामा उल्लेखनीय सुधार ल्याउँदै मल्टिटास्किङ र आधुनिक गेमिङ अनुभवलाई अझ सहज र प्रभावकारी बनाउने बताइएको छ ।

नेपालमा शाओमी १७टी बैजनी, निलो र कालो गरी तीन आकर्षक रङमा उपलब्ध छ । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु. ८९,९९९ तोकिएको छ । साथै, शाओमी १७टी नेपालमा खरिद गर्ने प्रत्येक ग्राहकले रेड्मी बड्स ६ प्ले (मूल्य रु. २,४९९) निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =