चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग

काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले मुलुकका विभिन्न कृषि क्षेत्रमा देखिएका समस्या र विकास आयोजनाका कारण उत्पन्न जटिलतातर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले विशेषगरी चिया, दूध र सुपारी किसानले भोगिरहेका समस्या तत्काल सम्बोधन गर्न माग गरेका हुन् ।
सचेतक राईले पूर्वी नेपालमा वि.सं. २०४१/४२ सालदेखि सुरु भएको व्यावसायिक चिया खेती अहिले संकटमा परेको बताए ।
चिया क्षेत्रका अग्रजहरूको योगदान स्मरण गर्दै उहाँले हाल उद्योगीहरूले समस्याका कारण आगामी असार १ गतेदेखि उद्योग बन्द गरी सरकारलाई साँचो बुझाउने तयारी गरेको जानकारी दिए । छिमेकी मुलुकमा नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन ‘जी–टु–जी’ (सरकार/सरकार) माध्यमबाट पहल गर्न र तेस्रो मुलुकमा बजार व्यवस्थापनका लागि चासो दिन उहाँले सभामुखमार्फत सरकारसँग माग गरे ।
त्यसैगरी, दुग्ध किसानले विगत ६ महिनादेखि दूधको भुक्तानी नपाएको विषयलाई पनि उनले सदनमा उठाए ।
उनले भने ‘दूध किसानले मूल्य नपाउँदा परिवारको जीविकोपार्जन र बालबालिकाको शिक्षामा गम्भीर असर परेको छ ।’
राईले सुपारी खेतीलाई कृषिजन्य उत्पादनका रूपमा घोषणा नगरिएको र किसानले उत्पादन गरेको सुपारी ओसारपसारमा समेत अवरोध सिर्जना गरिएको बताए । १ केजी सुपारी बोकेर हिँड्दा समेत समस्या भोग्नुपरेको भन्दै उनले सुपारीलाई कृषि उपजको मान्यता दिन र सहज वातावरण बनाउन माग गरे ।
मेची राजमार्ग विस्तारका सन्दर्भमा बोल्दै सचेतक राईले १५ मिटर फराकिलो बनाउने कार्य गर्नुअघि त्यसको आवश्यकता पहिचान (निड एसेसमेन्ट) गर्नुपर्नेमा जोड दिए । विगतको तुलनामा सवारी साधनको चाप कम हुँदै गएको र थुप्रै वैकल्पिक मार्गहरू उपलब्ध रहेको अवस्थामा राजमार्ग विस्तारका नाममा वर्षायाममा नागरिकलाई आतङ्कित तुल्याउन नहुने उनको तर्क थियो ।
सचेतक राईले किसानका यी आधारभूत समस्या र पूर्वाधार विकासका नाममा देखिएका अन्यौलप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गरेका छन् ।








