नगद वितरणले मात्र गरिबी घट्दैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगद वितरण गरेर मात्रै गरिबी नघट्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटले नगद वितरणलाई प्राथमिकता नदिएको स्पष्ट पारेका हुन् ।
तर सामाजिक सुरक्षाका कार्यक्रमहरू कटौती नगरिएको उनको भनाई छ । बरु केही क्षेत्रमा थप विस्तार गरिएको उनले जानकारी दिए । मानिसलाई सधैँ सहायता लिने अवस्थामा राख्ने नभई आम्दानी आर्जन गर्ने अवस्थामा पुर्याउने सरकारको लक्ष्य रहेको उनको भनाई छ ।
गरिबी न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय स्थायी रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नु रहेको उल्लेख गर्दै उनले सरकारले आगामी बजेटमा त्यही लक्ष्यलाई प्राथमिकतामा राखेको दाबी गरे । अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनाको लागी कृषि, उद्यम तथा निजी क्षेत्रलाई सशक्त बनाइने बताए ।
सरकारले निजी क्षेत्रसंघको सहकार्यलाई केन्द्रमा राखेर आर्थिक नीति अघि बढाएको पनि उनको भनाई छ । राज्यले सबै काम आफैँ गर्ने वा निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने पुरानो सोच त्यागिएको उनले बताए । उनले बजारले मात्र सबै समस्या समाधान गर्छ भन्ने अतिवादी दृष्टिकोणबाट पनि सरकार टाढा रहेको बताए ।
अर्थमन्त्री वाग्लेले बजारको निर्माण, नियमन र स्थिरता सुनिश्चित गर्ने जिम्मेवारी राज्यकै भएको बताउँदै प्रतिस्पर्धात्मक अर्थतन्त्रमार्फत समतामूलक समृद्धि हासिल गर्न बलियो राज्य आवश्यक पर्ने उल्लेख गरे । सरकारले नियामकीय निकायहरूलाई सुदृढ बनाउने नीति लिएको उनको भनाई छ ।
उनले भने ‘नीतिगत रूपमा हामीले दोहोरो चरित्र त्यागेकै हो । नियामकीय निकायलाई सुढृड गर्नेतर्फ हामीले ध्यान दिएका छौँ । राज्यले सबै काम आफैँ गर्ने र निजी क्षेत्रलाई शंकाको दृष्टिकोणले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्केकै हो । बजारले सबै समाधान गर्छ, भन्ने अतिवादी सोचबाट पनि हामी टाढा छौँ । हाम्रो दृष्टिकोण सक्षम राज्य र गतिशील निजी क्षेत्र बीचको सहकार्यमा आधारित छ । बजार स्वनिर्मित हुँदैन, राज्यले नै बनाइदिनुपर्छ । बजारहरू स्वनियमन पनि हुँदैनन्, त्यसलाई नियमन गर्ने राज्यले नै हो । बजारहरू आफैँ स्व–स्थिर हुँदैनन्, त्यसलाई राज्यका सबल निकायहरूले नै स्थिर बनाउने हो । बजारमा प्रतिफलहरू स्ववैध हुँदैनन्, त्यसलाई राज्यले हस्तक्षेप गरेर नै गर्नुपर्छ । त्यो धारबाट यो बजेट बनेको छ । यो नियमाकीय निकायहरूको हामीले अभ्यास पनि गर्दै आयौँ तर यो विकृत भयो । कहिले क्यापिटलिज्मका कुराहरू आउँछन्, कहिले कब्जाको कुरा आउँछन् । त्यसलाई ध्वस्त बनाएर नै अगाडी जानुपर्छ । प्रतिस्पर्धात्मक अर्थतन्त्रले समतामुखी समृद्धिको नतिजा ल्याउनको राज्य बलियो हुनुपर्छ । अर्को गरिबी कसरी घटाउने भन्ने विषयमा हाम्रो दृष्टिकोण अलि उन्नत छ, हामीले सामाजिक सुरक्षामा विद्यमान कार्यक्रमहरू एउटा पनि काटेका छैनौँ । लोक कल्याणकारी, गरिबी कुनैका नाममा यहाँहरूले ल्याएका बजेट काटिएको छैन, बरु हामीले थपेका छौँ । तर केवल नगद वितरण गरेर मात्रै गरिबी घट्दैन, भन्ने यथार्थलाई बजेटले स्वीकार गरेको छ । हामी मान्छेलाई सधैँ सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी आर्जन गर्ने अवस्थामा पुर्याउने पक्षमा छौँ ।’
विगतमा नियामकीय अभ्यास विकृत बन्दै गएकोका कारण क्रोनी क्यापिटलिज्म र आर्थिक कब्जाजस्ता प्रवृत्ति देखिएको उनले बताए । त्यस्ता विकृतिलाई अन्त्य गरेर अघि बढ्ने उनको भनाई छ ।








