प्रतिपक्षको आन्दोलन यथावत् छ, बजेटका लागि मात्र सहजीकरण गरिएको हो: राजेन्द्र राई

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रतिपक्षको आन्दोलन र अडान यथावत् रहेको स्पष्ट पारेका छन् ।

बिहीबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले बजेटमाथिको छलफललाई मध्यनजर गर्दै प्रक्रियालाई केही सहज मात्र बनाइएको बताए ।

सांसद राईले अर्थमन्त्रीको कार्यशैली र बजेटको आलोचना गर्दै संसदीय छानबिन समितिको माग दोहोर्याए । सुरुमा अर्थमन्त्री स्मार्ट भएको र राम्रो बजेट ल्याउने अपेक्षा गरिए पनि बजेट वक्तव्य आएपछि त्यो भ्रामक देखिएको उनको आरोप छ ।

उनले भने ‘हाम्रो अडानबाट हामी पछि हटेका छैनौँ । जनताका जल्दाबल्दा समस्या र बजेटमाथि छलफल गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै सदनको प्रक्रियालाई केही सहजीकरण मात्र गरिएको हो। हाम्रो आन्दोलन र बजेटमाथिको छलफल सँगसँगै अगाडि बढ्छ । अर्थमन्त्रीले गरेका कामहरू त्रुटिपूर्ण छन्, त्यसैले यसको सत्यतथ्य छुट्याउन संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने हाम्रो माग कायमै छ ।’

जनताको मनोभावना बुझ्दै उनले विगतमा अन्य राजनीतिक शक्तिलाई मतदान गरेका नागरिकहरूले अहिले गल्ती महसुस गरिसकेको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =