अर्थमन्त्रीलाई निष्कलको प्रश्न- कसको स्वार्थमा करको दर र आर्थिक विधेयक फेरबदल गर्नुभयो ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको ? भनी अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सचेतक राईले सदनको सम्पत्तिको रूपमा रहेको कुनै पनि विधेयकलाई सरकारले हेरफेर गर्न वा सच्याउने काम गर्न संवैधानिक हिसाबले पनि नमिल्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘करका दरमा बारम्बार हेरफेर गर्नुभयो । उहाँले संसदको अधिकारमा कैँची चलाउनु भएको हो कि । र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नु भएको हो कि । संसद वादविवाद गर्ने थलो हो । यसको नीति, विधि र प्रक्रिया छ । सदनमा पेस भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ ? यो अक्ष्यम्य गल्ती किन र कसको स्वार्थमा भएको हो ? मेरो प्रश्न छ । सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र ? उहाँलाई मेरो प्रश्न छ–कसको इसारा अथवा कुन स्वार्थमा करको दर आफूखुसी परिवर्तन गरियो ? संविधानको मर्म अनुसार कुनै पनि विधेयक सदनमा पेस भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने संवैधानिक व्यवस्था छ सभामुख महोदय । सरकारले त्यसलाई आफूखुसी बदल्न वा सच्याउन पाउँदैन ।’
सचेतक राईले अर्थमन्त्री वाग्लेलाई कसैको इशारामा लागेर करको दर फेरबदल गर्ने छुट नरहेको पनि बताए ।








