बजेट संविधान विपरीत छैन, समतालाई केन्द्रमा राखेर अघि बढेका छौँ: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दाबी गरेका हुन् ।

विपक्षी दलहरूले संविधानको मर्मविपरित बजेट आएको भन्ने आरोपलाई उनले खण्डन गरे । उनले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दाबी गरे ।

समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उनको भनाई छ । बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेण्डालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको उनले बताए । उनले सरकार पाँच वर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेण्डाप्रति दृढ रहेको उल्लेख गरे ।

सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबीच उच्च स्तरको सङ्गति रहेको उनको दाबी छ ।

उनले भने ‘मैले बुझेको भाषा अथवा मेरो पाटीले बोकेको एजेण्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एकठाउँमा रह्यो तर पाँच वर्षसम्मको लागी हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेण्डालाई नै हो, त्यसप्रति अत्यन्तै बफदार रहेर हामीले कार्यक्रमहरू अगाडी बढाएका छौँ । १०० वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबै अभूतपूर्व कस्सिटेन्सी छ, एउटा संगती छ, यसलाई त्यही कोणमा हेरिदिनुहोला । हाम्रो विगत ३०/४० वर्षको राजनीति अलि वाम प्रेरित नै थियो, त्यो भाष्यमा गडेर पनि बसेको छ, त्यसबाट हामीले प्रेरणा पनि लिएका छौँ । संविधानको खिलाफमा भयो भन्ने कुरा बिलकुल गलत छ, समतालाई हामीले केन्द्रविन्दुमा राखेका छौँ । ग्रोथको कुरा गर्दैगर्दा पनि ग्रोथ वीथ ईक्वीटिको कुरा हामीले गरेका छौँ । समन्यायिक समुन्नति, समृद्धिका कुरा गरेका छौँ । त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपरेपनि समताको एजेण्डालाई हामीले अगाडी सारेका छौँ ।’

उनले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेण्डाजस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =