सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छ: सांसद आचार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने तर व्यवस्था नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सांसदहरूले शून्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टि जनाउँदै ‘शून्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरे । उनले ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जबाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताए । उनले सांसदहरूले उठाएका जनताका पीडा, प्रश्न र राष्ट्रिय मुद्दा सुन्ने, टिपोट गर्ने र कार्यान्वयन प्रक्रियामा लैजाने व्यवस्था भएमा मात्रै शून्य समयको सार्थकता रहने बताए ।

शून्य समय केवल बोल्ने औपचारिकता नभई जनताको पीडा संसद्मा प्रवेश गर्ने संवैधानिक माध्यम भएकोले यसलाई अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन र तोकिएको समयभित्र कार्यान्वयनको प्रगति विवरण सम्बन्धित सांसदलाई उपलब्ध गराउन माग गरे ।

उनले भने ‘यदि यो शून्य समयमा हामीले बोलेका कुराहरू सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन पूर्ण समय भनौँ । तर यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोलेपनि शून्यमा शुन्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ । ब्ल्याक होलमा प्रकाश समेत हराएकै संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जबाफदेहिता र सरकारको जिम्मेवारी हराउन हुँदैन । शून्य समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा संसद्मा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ । त्यसैले शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्रै सीमित नगरियोस्, ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस् । सांसद बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ । यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ ।’

बैठकमा उहाँले शून्य समय जनताको आवाजको पूर्ण समय बन्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =