एकपटक प्राप्त मतको आधारमा सरकारले धेरै दम्भ नदेखाओस्- काँग्रेस सांसद पन्त

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने भन्दै एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो चेतावनी दिएकी हुन् ।
उनले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री स्वयंको धारणा आउनुपर्नेमा जोड दिए । उनले आपसी सहकार्य, एकता र सहमतिका आधारमा मुलुक अघि बढाउन समेत सत्तारुढ दल रास्वपालाई आग्रह गरे । उनले सभाको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्न आफूहरू तयार रहेको उल्लेख सभाप्रति सरकार उत्तरदायी हुनुपर्ने बताए ।
उनले भनिन् ‘राष्ट्रिय सभाको भिन्न जिम्मेवारी छ, त्यो जिम्मेवारी निर्वाह गर्न हामी तयार छौँ । तर हामीसँग रहेको प्रधानमन्त्रीप्रतिको आग्रह मेटियो भनेर भन्न सक्दैनौँ । निर्वाचनबाट प्राप्त मतबाट मात्र राजनीतिले छुटकारा पाउँदैन । गाली गर्न सजिलो छ, भूमिका निर्वाह गर्न अत्यन्त गाह्रो छ । निर्वाचनबाट राजनीतिक दलहरूले धेरै मत प्राप्त गरेको हाम्रो इतिहास पनि छ । एक चोटि पाएको मतले धेरै दम्भ देखाउनुपर्ने जरुरी पनि छैन । माइक भेटेपछि धेरै कुरा गरिहाल्नुपर्छ भन्ने पनि छैन । त्यसरी सरकार चलाउन गाह्रो पनि पर्छ । नेपालजस्तो मुलुकले सहकार्य, एकता र सहमतिको आधारमा अगाडि बढ्नुपर्छ ।’
उनले सरकारले गर्ने सकारात्मक कार्यहरूमा सहयोग गर्न प्रतिपक्षी दलहरू तयार रहेको भन्दै नतर्सिन समेत आग्रह गरिन् ।








