दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोली प्रहारः १२ जनाको मृत्यु, ९ घाइते

एजेन्सी । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गस्थित एक सुकुम्बासी बस्तीमा भएको सामूहिक गोलीकाण्डमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
दक्षिण अफ्रिकी प्रहरी सेवाले बुधवार जारी गरेको विज्ञप्तिअनुसार क्लिभल्याण्डको जम्पर्स नामक सुकुम्बासी बस्तीमा मंगवबार स्थानीय समयअनुसार राति करिव ११ः१० बजे सो घटना भएको हो ।
१० जनाभन्दा बढीको संख्यामा रहेका हतियारधारी समूहले बस्तीमा प्रवेश गरी विभिन्न स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणपछि उनीहरू एउटा सवारी साधनमा चढेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घटनास्थलमा ८ पुरुष र ३ महिला गरी ११ जनाको मृत्यु भएको थियो भने अर्का एक पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गोली लागेर घाइते भएका अन्य ९ जनालाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थाहरूमा भर्ना गरिएको छ ।
उक्त घातक आक्रमणको उद्देश्य अहिलेसम्म खुल्न सकेको छैन । यस घटनामा संलग्न कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् । प्रहरीले घटनाको सम्बन्धमा गहन अनुसन्धान सुरु गरिएको जनाएको छ ।
दोषीहरूको खोजी कार्य तीव्र पारिएको उल्लेख गर्दै प्रहरीले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।








