प्रधानमन्त्रीको भनाइमाथिको परराष्ट्रमन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्रीद्वारा व्यक्त विवादास्पद अभिव्यक्तिमाथि परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण नेकपाले अस्वीकार गरेको बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण नेकपाले अस्वीकार गर्ने स्पष्ट पारेका हुन् ।
उनले प्रधानमन्त्री बालेन्द्र साहको नेपालले पनि भारतको भूमि मिचको छ भन्ने भनाइ संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे । सांसद हमालले प्रधानमन्त्री संसद्मा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने र माफी माग्नुपर्ने अडान राख्दै आएपनि संसद्को कारबाहीलाई सधैँ रोक्न नहुने धारणा व्यक्त गरे ।
संसदको अवरोध हटाए पनि प्रधानमन्त्रीको उपस्थितिको माग भने निरन्तर रहने उनको भनाइ थियो । हमालले सभामुखमार्फत प्रधानमन्त्रीलाई रोस्टममा उभिएर जवाफ दिन रुलिङ गर्नसमेत आग्रह गरे ।
आफ्नो धारणा राख्ने क्रममा उनले भने ‘हामी निरन्तर रूपमा आफ्ना असहमतिहरू जाहेर गर्नेछौँ। संसद्लाई अगाडि बढाउन र बजेटमाथि छलफल गर्न हाम्रो संघर्षको स्वरूपलाई परिवर्तन गर्दै कार्यनीति तय गरेका छौँ ।’
सांसद हमालले प्रधानमन्त्रीले प्रयोग गरेका शब्दहरूलाई ‘गम्भीर राष्ट्रघाती’ संज्ञा दिँदै ती शब्दहरू अविलम्ब संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।








