प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति

काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा बोल्दै नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्रमन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे ।
प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै नेता थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको सङ्केतका रूपमा चित्रण गरे । उनले प्रधानमन्त्रीको कार्यशैलीले मुलुकलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गरे ।
सम्बोधनका क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदको भनाइलाई उद्धृत गर्दै नेपालको वर्तमान शासन व्यवस्था र शासकहरूको कार्यशैली ‘पाकिस्तानी मोडेल’ तर्फ उन्मुख हुन लागेको हो कि भन्ने गम्भीर आशङ्का उब्जिएको उल्लेख गरे । नेता थापाले संसद्मा विद्यमान गतिरोध अन्त्यका लागि तीन वटा सर्त अघि सारेका छन् ।
उनले भने ‘विदेशमन्त्रीज्युले यहाँ प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई, उहाँको त्यो घोषणालाई यहाँ रक्षा गर्ने, त्यो भनाइ सही थियो भन्ने कुराहरू यहाँ राखेर जानुभयो । तर त्यो स्पष्टीकरणसँग हामी सहमत छैनौँ । त्यो स्पष्टीकरण परराष्ट्रमन्त्रीले दिने होइन, किनभने त्यो वक्तव्य परराष्ट्रमन्त्रीले दिएको होइन । त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ । उहाँ किन यो संसदको उपहास र उपेक्षा गर्दै यो संसदको रोष्ट्रममा फेरि आउन चाहनुहुन्न ? उहाँले किन निरन्तर रूपमा यो रोष्ट्रम र यस सभाको उपेक्षा गरिराख्नुभएको छ ? यसको अर्थ के हो ? के यो स्वेच्छाचारिता हो ? के यो अधिनायकवाद हो ? वा यो के हो ? प्रधानमन्त्रीले यो देशलाई कुन दिशातिर लैजान खोजिराख्नुभएको छ ? त्यसकारण यो प्रश्न पनि उठेको छ, र यस प्रश्नको जवाफ रास्वपाकै एक जना सांसद, जो भू–राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता तथा अध्येता पनि हुनुहुन्छ, उहाँको भनाइ तथा हालै एक टेलिभिजन अन्तर्वार्तामा गरिएको खुलासाअनुसार नेपाल कतै पाकिस्तानी मोडेलतर्फ उन्मुख त छैन ? नेपालको शासन व्यवस्था र नेपालका शासकहरूको कार्यशैली कतै त्यही दिशातर्फ उन्मुख त छैन भन्ने गम्भीर आशङ्का स्वयं रास्वपाका सांसदले पनि उठाउनुभएको छ । अन्त्यमा, म के भन्न चाहन्छु भने, यो सङ्कटको समाधान प्रधानमन्त्री यस रोष्ट्रममा आएर आफ्ना गल्तीहरू सच्याएपछि मात्र सम्भव हुन्छ । जबसम्म सभामुखले ती अभिव्यक्तिहरूमाथि रुलिङ गर्नुहुन्न, तबसम्म यो सङ्कटको समाधान सम्भव छैन । जबसम्म रास्वपाका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर भनेर निर्देशन दिनुहुन्न, तबसम्म पनि यो सङ्कटको समाधान सम्भव छैन । र यो सङ्कट समाधान नहुँदासम्म राष्ट्रियताको पक्षमा, राष्ट्रिय स्वाभिमानका निम्ति तथा देशको गरिमाको रक्षाका लागि हाम्रो सङ्घर्ष जारी रहनेछ ।’
उनकाअनुसार प्रधानमन्त्रीले रोष्टममा आएर आफ्ना गल्तीहरू सच्याउनुपर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ । यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको सङ्घर्ष जारी रहने नेता थापाले स्पष्ट पारे ।








