नेपालले भारत भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्ष देख्दा लज्जित छु: भीष्मराज आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त भनाई राखेका हुन् ।

नेता आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँडनुपर्नेमा सत्ता पक्ष केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाए । उनले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरूलाई वीर भक्ति थापाको आत्माले पनि धिक्कार्ने बताए ।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक संवादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पारे ।

उनले भने ‘दुनियाँलाई थाहा छ सभामुख महोदय लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेशले होइन । संयमित ढंगले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रिया बाट हुनु पर्दछ । हामी सबै यही चाहन्छौ । त्यसका लागि हामी पक्ष, प्रतिपक्ष सबै नै सरकारको साथमा नै थियौँ । र छौँ । तर सरकार र सत्तारुढ दलको रवैया यो गम्भीर विषयप्रति गम्भीर देखिएन सभामुख महोदय । सरकार अगल कुरा हो । पार्टी अलग हो । मन्त्री, प्रधानमन्त्री पद अलग हो । संसद् अलग । यो तथ्य बुझेर अघिल्लो संसद्मा जुन बेला नेपाली काँग्रेसका वर्तमान पार्टी सभापति र उपाध्यक्ष तत्कालीन अवस्थामा महामन्त्री हुनुहुन्थ्यो । उहाँहरूले रोष्टममा उभिएर आफ्नै सरकारको पनि कमजोरीहरू केलाउनुभएको थियो । काँग्रेसका सांसदहरू काँग्रेसकै मन्त्री, प्रधानमन्त्रीका विरुद्ध आवश्यक विषयमा प्रश्न उठाउनु हुन्थ्यो । प्रहार गर्नु हुन्थ्यो । त्यसैले दम राखेर आजको मितिमा यो भन्न सकियो काँग्रेस लास र दासको पार्टी होइन । त्यही हिम्मतमा, त्यही नैतिक धरातलमा उभिएर हामीहरूले बोल्न सकिराखेका छौ । तर आजको मितिमा यो संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिराखेको बडो कारुणिक दृश्य मैले देखिराखेको छु । सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान् । मेरो देशले कसेको सीमा कहाँ मिचेको छ ? भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफैँ लज्जित छु । उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्थे तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडी राख्नु भएको छ । नेपालले मिचेको भूमि खोजी राख्नु भएको छ । यस्तो खालको जनताले देख्दाखेरी पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिर्कालान कि ।’

नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसद्मा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइराखेको कारुणिक दृश्य देख्नुपरेको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =