नेपाली महिला क्रिकेट टोलीको वरियता एक स्थान खस्कियो

काठमाडौं । नेपाली महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२०आई वरियतामा एक स्थान तल झरेको छ । नयाँ वरियताअनुसार नेपाल २३औँ स्थानमा पुगेको हो ।
पछिल्लो समय अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाली महिला टोलीको वरियतामा गिरावट आएको हो । गत साता एसियन गेम्स छनोट र एसिया कप छनोट दुवै प्रतियोगितामा टोली सफल हुन सकेको थिएन ।
एसियन गेम्स छनोटमा नेपालले चीन र इन्डोनेसियालाई पराजित गरेको थियो । तर सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपाल फाइनल पुग्न सकेन । तेस्रो स्थानका लागि भएको खेलमा पनि चीनसँग पराजित हुँदै टोली एसियन गेम्समा स्थान बनाउन असफल भएको थियो ।
त्यसैगरी एसीसी महिला प्रिमियर कपमा नेपालले समूह चरणमा कतार र भुटानलाई पराजित गरे पनि हङकङसँग हार व्यहोरेको थियो ।
बुधबार बिहान भएको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल एसिया कपका लागि समेत छनोट हुन सकेन । पछिल्ला नतिजाले वरियतामा असर पारेको हो ।








