कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका १३६ कर्मचारीप्रति संयुक्त राष्ट्र संघद्वारा श्रद्धाञ्जली अर्पण

एजेन्सी । संयुक्त राष्ट्र संघले सन् २०२५ मा आफ्नो कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका १३६ जना कर्मचारीहरूको सम्मानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा आयोजित वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटेरेसले दिवंगत कर्मचारीहरूप्रति सम्मान व्यक्त गरे । महासचिव गुटेरेसकाअनुसार ज्यान गुमाउनेहरूमा ९७ जना निजामती कर्मचारी र ३९ जना सैन्य तथा प्रहरी सेवाका शान्ति सैनिक रहेका छन्।

विश्वका ३२ विभिन्न राष्ट्रका नागरिक रहेका यी कर्मचारीहरू पृष्ठभूमिमा भिन्न भएपनि विश्व सेवाको उद्देश्यमा एकजुट रहेको उनले उल्लेख गरे ।

यस वर्ष ज्यान गुमाउनेमध्ये ८० जना गाजास्थित संयुक्त राष्ट्र संघीय राहत तथा कार्य निकायमा कार्यरत कर्मचारी रहेका छन् । राष्ट्र संघको इतिहासमा कुनैपनि एउटा द्वन्द्व वा विपद्मा यति ठूलो संख्यामा कर्मचारीहरू मारिएको यो पहिलो पटक हो ।

तीमध्ये केहीको आफ्नै घरमा परिवारसँगै वा आश्रयस्थलमा मृत्यु भएको थियो भने केहीको कार्यक्षेत्र, कार्यालय र समुदायमा सेवा प्रवाहकै क्रममा ज्यान गएको थियो ।

सम्बोधनका क्रममा महासचिव गुटेरेसले राष्ट्र संघका कर्मचारीहरूलाई कहिल्यै पनि निशाना बनाइनु नहुनेमा जोड दिए । महासचिवले विश्वभर कार्यरत कर्मचारीहरूको सुरक्षा र सुनिश्चितताप्रति राष्ट्र संघको अटुट प्रतिवद्धता दोहोर्याउँदै यस्ता घटनामा संलग्नहरूलाई जवाफदेही बनाइनुपर्ने माग समेत गरे ।

वर्तमान समयमा बहुपक्षीयतामाथि विभिन्न आक्रमण भइरहेको सन्दर्भमा, ज्यान गुमाउने कर्मचारीहरूको योगदानले संयुक्त राष्ट्र संघको सान्दर्भिकता र मानवताको उच्च मूल्यलाई प्रमाणित गरेको उनको भनाइ थियो ।

विश्वका सबैभन्दा कठिन र खतरनाक स्थानहरूमा सेवा गर्ने साहस देखाएका ती कर्मचारीहरूको दया, करुणा र समर्पण नै मानवताको सर्वोच्च गुण भएको चर्चा गर्दै महासचिवले उनीहरूको बलिदानको स्मरण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =