जापानको राष्ट्रिय गुप्तचर परिषद् ऐन खतरनाक हुनसक्ने जापानी प्राज्ञको चेतावनी

एजेन्सी । जापानका एक प्रख्यात प्राज्ञले राष्ट्रिय गुप्तचर परिषद् स्थापनासम्बन्धी ऐनको पर्याप्त औचित्य नभएको र यसले देशलाई खतरनाक बाटोमा लैजान सक्ने भन्दै शतर्क रहन आग्रह गरेका छन् ।

टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै जापानको कान्तो गाकुइन विश्वविद्यालयका इमेरिटस प्रोफेसर मासाकात्सु आदाचीले उक्त ऐनले गुप्तचर निगरानी बढाउने र सैन्य सुदृढीकरणलाई प्रोत्साहन दिने आशंका व्यक्त गरे । यसले जापानको भविष्यमा गम्भीर असर पर्ने उनको भनाइ छ ।

प्रोफेसर आदाचीकाअनुसार यो राष्ट्रिय गुप्तचर परिषद्ले भविष्यमा राष्ट्रिय सुरक्षा परिषद्सँग मिलेर काम गर्नसक्ने र यसले विस्तारै गुप्तचर सूचना संकलनको दायरालाई अनियन्त्रित रूपमा बढाउने खतरा रहन्छ ।

प्रधानमन्त्री सानाए ताकाइचीले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा जटिल र गम्भीर सुरक्षा वातावरण सामना गरिरहेको तर्क गर्दै यस परिषद्लगायतका गुप्तचर संयन्त्रहरूको विकासलाई अगाडि बढाएका छन् ।

आदाचीले ताकाइची प्रशासनले आफ्ना नीतिहरू लागू गर्नका लागि विपक्षीहरूबाट हुनसक्ने सम्भावित खतरालाई बढाइचढाइ प्रश्तुत गर्ने गरेको आरोप लगाए ।

उनले वर्तमान क्षेत्रीय तनावको केही हिस्सा स्वयं ताकाइचीका त्रुटिपूर्ण अभिव्यक्ति र सैन्य विस्तारको चाहनाले सिर्जना गरेको उल्लेख गर्दै सरकारले आफ्ना कमजोरी सुधार्नुको सट्टा उत्पन्न तनावलाई नै खतरनाक नीतिहरू अघि सार्ने माध्यम बनाएको बताए ।

जापानको गुप्तचर संयन्त्रलाई केन्द्रीकृत र सुदृढ बनाउने उद्देश्यले ताकाइची प्रशासनले ल्याएको यो ऐन यसै वर्षको अप्रिल र मे महिनामा संसदका दुवै सदनबाट पारित भइसकेको छ ।

यद्यपि, जापानभित्रै यस ऐनको व्यापक आलोचना भइरहेको छ । आलोचकहरूका अनुसार यस ऐनले सरकारको गुप्तचर सूचना संकलन गर्ने गतिविधिको सीमा र दायरा स्पष्ट पारेको छैन र यसमा प्रभावकारी निगरानी संयन्त्रको समेत अभाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =