कुम्हार समुदायको परम्परागत पेसा सङ्कटमा

नेपालगन्ज । बाँकेका रैथाने कुम्हार (प्रजापति) समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ ।
वर्षौंदेखि व्यावसायिक रूपमा माटोको प्रयोग गर्दै आएका उनीहरूलाई माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको तराई कुम्हार समाज नेपालका मुख्य संरक्षक विष्णुलाल कुम्हारले जानकारी दिए ।
पेसा नै सङ्कटमा परेपछि कुम्हार समाजका प्रतिनिधि तथा अगुवाको टोलीले आइतबार नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टलाई सामूहिक ज्ञापनपत्र बुझाउँदै माटो उत्खननमा लगाइएको रोकबारे ध्यानाकर्षण गराएको छ ।
सो समस्याको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालले बुझाएको सामूहिक ज्ञापनपत्र बुझ्दै नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले आवश्यक नियम बनाई दीर्घकालीन समाधान खोज्ने आश्वासन दिएका छन् ।
माटो उत्खननमा रोक लगाइएका विषयलाई गम्भीर रूपमा लिँदै भविष्यका लागि निश्चित नियम र कार्यविधि बनाई पेसा सङ्कटमा नपर्ने गरी स्थायी समाधान खोजिने नगरप्रमुख विष्टले प्रतिबद्धता व्यक्त गरे ।
मुख्य संरक्षक कुम्हारका अनुसार, परापूर्वकालदेखि नेपालगन्ज र आसपासका ताल, पोखरी तथा खाल्डाखुल्डीबाट निकालिने लसिलो माटोबाट यस क्षेत्रका कुम्हार समुदायले विभिन्न माटाका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका छन् ।
यहाँको माटोबाट बनेका भाँडा अत्यन्तै बलिया र गुणस्तरीय रहेको उनीहरूको दाबी छ । अहिले बाँकेका करिब ५० गाउँका १७० देखि १८० घरधुरी पूर्ण वा आंशिक रूपमा माटोका भाडा काममा आश्रित छन् ।
कुम्हार समुदायले आवश्यकताअनुसार नेपालगन्जको फूलटेक्रा क्षेत्रबाट ठूलो परिणाममा निकाल्ने माटोबाट भाँडा निर्माण हुँदै आएका छन् । सो समुदायले फागुन, चैत, वैशाख र जेठ चार महिना मात्रै भए पनि माटो झिक्न पाउनुपर्ने व्यवस्था गर्न नगरप्रमुख विष्टसँग माग गरिएको स्थानीय रमेशचन्द्र कुम्हारले बताए ।
लामो समयदेखि निरन्तर चल्दै आएको सो पुख्र्यौली पेसा हाल माटो झिक्ने कार्यमा कानुनी वा प्रशासनिक रोक लगाइएका कारण पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको संरक्षक कुम्हारको भनाइ छ ।








