सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पक्ष–विपक्षी दल नछुटाई सबैको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

धादिङस्थित क्रिक रिसोर्टमा आयोजित अन्तरक्रियामा उनले वडाध्यक्षदेखि मेयरसम्म सबैको सम्पत्ति छानबिन हुने बताए ।

उनले भने, ‘हाम्रो सरकारले पक्ष र विपक्ष भन्ने कुरामा छुटाउँदैन । गलतलाई गलत नै भन्छ । त्यही हिसाबले बुझ्नुभएको छैन कि उहाँहरूको सम्पत्ति छानबिन हुँदैछ । सुनको तोला–तोला जोख्छन् । छिट्टै बुझ्छन् । उहाँहरूलाई त्यतिखेर चाहिँ ओहो ठूलै गल्ती गरिएछ कि क्या हो भनेर बल्ल थाहा हुन्छ ।’

आफ्नै उदाहरण दिँदै गुरुङले आफू पनि छानबिन प्रक्रियामा परेको उल्लेख गरे । उनले भने, ‘मेरो आफ्नै त भइरहेको छ भनेपछि आफ्नै सरकारले आफ्नै विपक्षी दलको मान्छे जस्तो गरेर, यत्रो हामीले आन्दोलन गरेर यहाँसम्म सरकार ल्यायौँ, होइन ? तैपनि फर्स्टमै अट्याक मलाई !’

गुरुङले कोही पनि पूर्ण रूपमा निर्दोष नहुने दाबी गर्दै भविष्यमा रास्वपाकै जनप्रतिनिधिमाथि पनि छानबिन हुने नीति आउने बताए ।

उनले भने, ‘हामी सबै दूधले धोएका त हुँदैनौँ । सबैको केही न केही हुन्छ । कसैलाई लोभ हुन्छ, कसैलाई आज राम्रो हुन्छ भोलि नराम्रो हुन सक्छ ।’

उनका अनुसार नीति–नियम सबैमा समान रूपमा लागू हुनुपर्ने र कसैलाई छुट दिन नहुने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ ।

गुरुङले भने, ‘त्यही हिसाबले हामीले नीति–नियम बनायौँ भने जो कोहीलाई पनि लागू हुने भयो । त्यही लुपहोलमा फेरि अर्को हाम्रो रास्वपाको मेयर आयो भने त तपाईं र हाम्रो नाक काटियो नि ! समात्न त पर्छ फेरि हामीले त । रास्वपा भनेर छोड्ने कुरा हुँदैन नि !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =