सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व: कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।

सोमबार काठमाडौं महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै उनले सुरक्षा केवल अपराध नियन्त्रणमा मात्र सीमित नभई मानव जीवनका सम्पूर्ण आधारभूत अधिकारसँग जोडिएको विषय भएको बताए ।

आईजीपी कार्कीले मानव जीवनको सुरक्षाको आवश्यकता भ्रूण अवस्थादेखि नै सुरु हुने उल्लेख गर्दै जन्मपछि शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र सम्मानजनक जीवन बाँच्न पाउने अधिकार पनि सुरक्षाकै अभिन्न पक्ष भएको धारणा राखे ।

उनले कुनै पनि नागरिक स्वास्थ्य उपचारको अभावमा दुःख पाउन वा ज्यान गुमाउन नपरोस् भन्ने विषयमा सबै सचेत हुनुपर्ने बताए । समाजमा मानवतामूलक सुरक्षा प्रवर्द्धन गर्न राज्य, समुदाय र सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

कार्कीले भने, ‘नागरिकले खासगरी सुरक्षाको सम्बन्धमा नठगियोस्, नलुटियोस्, दुर्घटनामा नपरोस् भन्ने कामना गरेको हुन्छ । त्यति मात्रै पनि सुरक्षा होइन । सुरक्षाको कुरा गर्दा हामी बृहत्तर मानवीयताको कुरा गर्छौँ । मानवभित्र भ्रूणमै पनि सुरक्षाको कुरा छ । जन्मेपछि शिक्षा, स्वास्थ्य, खाद्यको सुरक्षाको कुरा छ । सम्मानजनक जिउने कुराको पनि सुरक्षाको कुरा छ ।’

उनले थपे, ‘अहिले हामी सबैले सम्मानपूर्वक बाँच्नका लागि नेपालमा भेटिएको कुनै पनि मान्छे स्वास्थ्य उपचार नपाएको कारणले दुःख पाउन वा मृत्युवरण गर्न नपरोस् । शिक्षाको कमीका कारण लुटिने वा ठगिने अवस्था नबनोस् । खाद्यको अभावका कारण कुपोषण हुन नपरोस् ।’

आईजीपी कार्कीले विगतमा मानिसले जंगली जनावरबाट डराउनुपर्ने अवस्था रहे पनि अहिले मानिसले मानिससँगै डराउनुपर्ने परिस्थिति देखिनु दुःखद् भएको बताए ।

उनले कम्तिमा पनि नागरिकले अर्को मानिसबाट असुरक्षित महसुस गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए । ‘पहिले डराउनुपर्ने जंगली जनावरसँग थियो होला, अहिलेको समयमा त मान्छेसँग नै डराउनुपर्छ । कम्तिमा पनि मान्छेसँग डराउनुपर्ने दिन नआओस्’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =