दीपक खड्कासहित तीन कांग्रेस नेतामाथि अघि बढ्यो कारबाही प्रक्रिया

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीन जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

सोमबार बसेको समितिको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

समितिले खड्कासँगै जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई पाँच दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा उनीहरूले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध संगठित रूपमा अन्तर्घात गरेको, कार्यकर्तालाई भ्रममा पारेको तथा विपक्षी उम्मेदवारलाई सहयोग पुर्‍याएको आरोप उल्लेख गरिएको छ ।

अनुशासन समितिका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा संखुवासभामा कांग्रेसका आधिकारिक उम्मेदवार दीपनकुमार श्रेष्ठविरुद्ध योजनाबद्ध गतिविधि भएको भन्दै उजुरी परेपछि छानबिन प्रक्रिया सुरु गरिएको थियो ।

स्पष्टीकरण पत्रमा खड्काले फागुन १२ गते धर्मदेवी नगरपालिकाको मुडे बजारमा आयोजित घरदैलो कार्यक्रममा पार्टी नेतृत्व र नीतिविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाइएको छ । उनले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई स्वीकार नगर्ने र कांग्रेसले निर्वाचन जित्न नसक्ने भन्दै कार्यकर्तालाई स्वतन्त्र रूपमा निर्णय गर्न उक्साएको दाबी गरिएको छ ।

त्यसैगरी जिल्ला सचिव अधिकारी र महाधिवेशन प्रतिनिधि लिंखामाथि खड्काकै निर्देशनमा संगठनविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । उनीहरूले कार्यकर्तालाई चुनावी कार्यक्रममा सहभागी नहुन दबाब दिएको तथा बाहिरबाट कांग्रेसको पक्षमा देखिए पनि भित्री रूपमा विपक्षी उम्मेदवारलाई सहयोग गरेको उजुरीमा उल्लेख छ ।

अनुशासन समितिले यस्ता गतिविधि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अन्तर्गत गम्भीर अनुशासन उल्लंघन भएको ठहर गरेको छ ।

समितिले सम्बन्धित नेताहरूलाई ‘किन कारबाही नगर्ने ?’ भन्ने प्रश्नसहित अन्तिम अवसरका रूपमा स्पष्टीकरण मागेको हो । निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभए पार्टी विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत समितिले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =